गुहेंली सञ्चार सहकारीको २०औँ वार्षिक साधारण सम्पन्न

बागलुङ, १६ भदौ । गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको २०औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ ।

सहकारीको साधारणसभाको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले सहकारीलाई मजबुत बनाउन शेयर सदस्यहरु क्रियाशिल हुनुपर्ने बताउनुभएको छ । उपाध्यक्ष थापाले केही सहकारीहरु नराम्रो हुँदैमा सवै सहकारीलाई नराम्रो भन्न नहुने बताउँदै सवै सहकारीलाई एउटै डालोमा हाल्लन नहुने बताउनुभयो ।

शेयर सदस्यहरु क्रियाशिल रहेर समय समयमा सहकारीको अवस्थाको जानकारी लिने गरेमा सहकारी मजबुत बन्नेमा उपाध्यक्ष थापाले जोड दिनुभयो । उहाँले साधारणसभामा सहकारीको अवस्थाको बारेमा संचालक समितिलाई प्रश्न र सुझाव दिँदै सहकारी राम्रो बनाउन शेयर सदस्यहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष थापाले सहकारीहरु उत्पादनमा जोडिनुपर्ने बताउँदै लगानी भएको ऋण उद्देश्य अनुरुप शेयर सदस्यहरुले गरे नगरेको हेर्नुपर्नेमा जोड दिनुभयो । उहाँले काठेखोला गाउँपालिकाले नागरिकलाई स्वरोजगार बनाउन तालिम संचालन गर्नुका साथै उत्पादनमा आधारित योजनाहरु संचालन गरिरहेको समेत बताउनुभएको थियो ।

साधारणसभाको उद्घाटनसत्रमा काठेखोला गाउँपालिका वडा नं. २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष खिम बहादुर कार्की, जिल्ला सहकारी संघ शिक्षा उपशाखाका सदस्य मुकुन्द शर्मा पौडेल, गुहेंली सञ्चार सहकारीका सल्लाहकार चन्द्रमणी उपाध्याय र ढोरपाटनन्यूजडटकम अनलाईनका सम्पादक रञ्जिता शर्माले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

साधारण सभाले सहकारीका सचिव सुर्य बहादुर थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विनोद कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

सहकारीले गतआर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यलाई सम्मान गरेको थियो । सहकारीले उत्कृष्ट बचतकर्ताबाट युक्तप्रसाद शर्मा, उत्कृष्ट ऋणी मिना परियार र उत्कृष्ट बाल बचतकर्ता रेखा थापालाई सम्मान गरेको थियो ।
यस्तै सहकारीमा स्थापना भएको कला गौरी स्मृति कोषबाट २०८२को पत्रकारीता पुरस्कार ढोरपाटनन्यूजटकमका सम्पादक रञ्जिता शर्मालाई प्रदान गरिएको छ । सहकारीका संस्थापक उपाध्यक्ष टिकाराम उपाध्यायले आमाबाबुको स्मृतिमा स्थापना गरेको कोषबाट हरेक बर्ष संस्थाका शेयर सदस्य मध्येबाट एक जना पत्रकार र एक जना ज्येष्ठ शेयर सदस्यलाई पुरस्कृत गरिँदै आएको छ । शर्मालाई पत्रकारीता क्षेत्रमा योगदान पुर्याएको भन्दै नगद ११ हजार रुपियाँसहित उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै सहकारीका ज्येष्ठ शेयर सदस्य इकाराज शर्मालाई कोषले सम्मान गरेको थियो ।

साधारणसभामा गुहेंलीका संस्थापक संचालक र सहकारीमा एकीकरण भएका सहकारीका संस्थापकहरुलाई समेत सम्मान गरेको थियो । सहकारीलाई स्थापनादेखि हालसम्म संचालनमा महत्वपूर्ण योगदान गरेको भन्दै गुहेंली सञ्चार सहकारीका संस्थापक अध्यक्ष खिम बहादुर कार्की, गुहेंलीमा एकीकरण भएको युनिक सञ्चार सहकारीका संस्थापक अध्यक्ष कृष्णमैया अधिकारी, सूर्यमुखी कृषि तथा पशु व्यवसायिक सहकारीका संस्थापक सचिव प्रजापति शर्मा र सक्षम बचत तथा ऋण सहकारीका संस्थापक सचिव प्रसाद थापालाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष तारा के.सी. कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष गिता हमालले स्वागत मन्तव्य र सचिव सुर्य बहादुर थापाले संचालन गर्नुभएको थियो ।

सहकारीमा एक करोड २४ लाख ८५ हजार ९ सय शेयर पुँजी रहेको छ । सहकारीले गतआर्थिक वर्ष २०८२/०८३ मा ३७ लाख ३१ हजार ६ सय ५२ रुपियाँ आम्दानी र ३६ लाख २१ हजार ७ सय १२ रुपियाँ खर्च गरेको छ ।

२०६४ सालमा काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा ३४ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हालसम्म ८ सय ८७ जना शेयरसदस्य रहेका छन् । भीमापोखरामा मुख्य कार्यालय रहेको सहकारीले बागलुङ बजारमा सेवा केन्द्र संचालन गरेको छ । सहकारीले जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाईन संचालन गर्दै आएको छ ।