बाढी प्रभावितलाई काठेखोला गाउँपालिकाले दुई लाख सहयोग गर्ने

बागलुङ, ११ भदौ । बुधबार आएको आकस्मिक बाढीबाट प्रभावितलाई सघाउन बागलुङको काठेखोला गाउँपालिकाले दुई लाख दिने निर्णय गरेको छ ।

काठेखोला गाउँपालिकाको तर्फबाट प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा सो रकम जम्मा गर्ने निर्णय गरेको हो । गाउँपालिकाले भोटेकोसी नदीमा आएको बाढीले प्रभावित रसुवा नुवाकोट लगायतका जिल्लाका नागरिकको पुर्नस्थापना एवं राहतका लागि दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता टीका संगम विकले जानकारी दिनुभयो ।

भोटेकोसीबाट आएको बाढीले अकल्पनीय क्षति पु¥याएको र यो बेला सवै नेपाली मिलेर अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने अवस्था रहेकाले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु र कर्मचारीहरुले सरसल्लाह गरेर दुई लाख रुपियाँ सहयोग गर्ने निर्णय गरिएको प्रवक्ता विकले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष राजु थापाले राष्ट्रिय विपद्को बेला सबैले हातेमालो गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले राष्ट्रिय विपत्तीको बेला रहेकोले सबै मिलेर नै यसको सामना गर्न सकिने बताउँदै पालिकाबाट अहिलेका लागि दुई लाख सहयोग गर्ने र व्यक्तिगत रुपमा सबैले सक्दो सहयोग गर्ने तथा सहयोग गर्न प्रेरित गर्ने बताउनुभयो ।

बुधबार बिहान चीनको तिब्बतबाट नेपालको रसुवा नाका हुँदै बग्ने भोटेकोसी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएको छ । अहिले पनि उद्धारको काम जारी रहेको छ ।