रसुवा बाढीमा तमानखोलाका नौजना सम्पर्कविहीन

बागलुङ, ११ भदौ । रसुवा र नुवाकोट क्षेत्रमा आएको भीषण बाढीका कारण बागलुङको तमानखोला गाउँपालिकाका ९ जना नागरिक सम्पर्कविहीन भएका छन् ।

तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाका अनुसार गाउँपालिकाका विभिन्न वडाका नागरिक रसुवास्थित जलविद्युत् आयोजना तथा आसपासका क्षेत्रमा काम गर्दै आएका थिए । बाढी आएपछि उनीहरूसँग सम्पर्क हुन नसकेको हो ।

सम्पर्कविहीन हुनेहरूमा तमानखोला गाउँपालिका–१ का पदमबहादुर घर्ती मगर, इन्द्रकुमार विक र विष्णु घर्ती मगर, वडा नं. २ का भीमबहादुर छन्त्याल र खड्क छन्त्याल, वडा नं. ३ का सञ्जय शेर्पाली, दल प्रसाद बुढा, वडा नं. ४ का लाता कामी र भीमबहादुर विक रहेका छन् ।

यसअघि प्राप्त जानकारीअनुसार उनीहरूमध्ये केही जना रसुवास्थित अपर त्रिशूली जलविद्युत् आयोजना (२१६ मेगावाट) को ड्यामसाइड हाकुवेशी तथा आसपासका क्षेत्रमा कार्यरत थिए ।

बुधबार रसुवा तथा आसपासका क्षेत्रमा आएको भीषण बाढीले ठूलो मात्रामा धनजनको क्षति पु¥याएको छ । बाढीका कारण त्यहाँ रहेका विभिन्न जिल्लाका नागरिकसमेत प्रभावित भएका छन् ।

हाल सम्पर्कविहीन नागरिकहरूको अवस्थाबारे जानकारी लिन तथा उनीहरूको खोजतलास र उद्धारका लागि पहल भइरहेको तमानखोला गाउँपालिकाले जनाएको छ ।