काठेखोलाको विकास खर्च ५५ प्रतिशत

बागलुङ, ९ जेठ । काठेखोला गाउँपालिकाले तेस्रो त्रैमासिकसम्म ५५ प्रतिशत विकास खर्च गरेको छ ।

बिहिबार सम्पन्न चालु आर्थिक वर्ष २०८२÷०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्ति पौडेलले गाउँपालिकाले ५५ दशमलव ५५.६१ प्रतिशत पूँजीगत खर्च गरेको जानकारी दिनुभयो । पौडेलका अनुसार ५८ करोड ९२ लाख २३ हजार रुपियाँ पूजिगत खर्च मध्य ३२ करोड ७६ लाख ८३ हजार ७ सय १३ रुपियाँ खर्च भइसकेको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले पूर्वाधार विकास तर्फ २५० योजनामा १९१ वटा सम्झौता भएको र ८९ वटा सम्पन्न भएको बताउनुभयो । उहाँले वडागत रुपमा २३५ वटा योजना तथा पूर्वाधारमा १७७ वटा सम्झौता भएको र ८४ वटा सम्पन्न भएको बताउनुभयो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले नदीजन्य पदार्थको अवैध उत्खनन् भइरहेको भन्दै रोक लगाउन अनुरोध गरेका छन् ।सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयहरुले काठेखोला तथा अन्य खोलाबाट अवैध रुपमा ढुङ्गा–गिट्टी निकालिएको भन्दै त्यसलाई रोक्न माग गरेका हुन् ।

स्थानीय विष्णु थापाले काठेखोला र स्थानीय खोलाहरु अतिक्रमण तथा दोहनका कारण कुरुप बन्दै गएको बताउनुभयो । उहाँले खोलामा माछासमेत हराउन थालेको बताउँदै नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन् रोक्न गाउँपालिकालाइृ आग्रह गर्नुभयो ।
यस्तै स्थानीय कुलबहादुर थापाले एउटै ठेकदारले धेरै योजनाहरुको ठेक्का पाउँदा विकास योजनाहरु अलपत्र परेको गुनासो गर्नुभयो । उहाँले योजना सम्पन्न नभएसम्म सम्बन्धित कम्पनीलाई नयाँ ठेक्का नदिन तथा बिचमै योजना छाड्ने ठेकेदारमाथि कारवाही गर्नुपर्ने माग गर्नुभयो ।

स्थानीय भैरवबहादुर थापाले काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकालाई जोड्ने चक्रपथको अवस्थाको बारेमा प्रश्न गर्नुभएको थियो । उहाँले गाउँपालिकाले सडक मर्मत गर्दा सवै क्षेत्रलाई समान प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।

स्थानीय विष्णु कंडेलले अन्तरवडा जोड्ने सडकहरुमा जिम्मेवारीको अन्योलका कारण मर्मत नभएको गुनासो गर्नुभयो । उहाँले सिमाक्षेत्रको सडक मर्मत कुन वडाले गर्ने भन्ने अन्योलका कारण समयमै मर्मत नभएको गुनासो गर्नुभयो । शिक्षक विष्णु थापाले आधारभूत तहको परिक्षालाई व्यस्थित बनाउन सुझाव दिनुभयो ।

गाउँपालिका अध्यक्ष राजु थापाले स्थानीय ढुङ्गा–गिट्टी पालिका भित्रको विकास निर्माणकै प्रायोजनमा प्रयोग भइरहेको बताउनुभयो । उहाँले खोला किनारको दोहन हुन नदिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले प्राथमिकताका आधारमा बजेट विनियोजित गरी विकास निर्माणका काम अघि बढाइएको जानकारी दिनुभयो । उहाँले स्थानीयहरुलाई स्वरोजगार बनाउने उद्देश्यले विभिन्न तालिम संचालन गरिरहेको बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तेज बहादुर थापाले गाउँपालिकाले पूर्वाधार निर्माणसँगै पर्यटन, कृषि, स्वास्थ्य, शिक्षा र स्वरोजगारलाई प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो । उहाँले काठेखोला र बागलुङ नगरपालिका जोड्ने चक्रपथ केन्द्र सरकार र गण्डकी प्रदेश सरकारको योजना भएकाले सोही तहबाट काम भइरहेको जानकारी दिनुभयो ।