
बागलुङ, २३ चैत । चौथो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा नेपाल आर्मीको कालिजंग गणले विजयी सुरुवात गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा सोमबार कालिजंगले हाइकर्स युनाइडेट बागलुङलाई ४–१ गोलअन्तरले पराजित गर्यो । कालिजंगको जितमा दिपेन दियाल नायक बन्नुभयो । उहाँले ह्याट्रिक सहित चार गोल गर्दै कालिजंगलाई क्वाटरफाइनलमा प्रवेश गराउनुभयो ।
खेलको पहिलो मिनेटमै गोल गर्नुभएका दिपेनले खेलको २२ औं मिनेट र ५१ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्नुभएको थियो । उहाँले खेलको ६० औैं मिनेटमा टिम र आफ्नो चौथो गोल गर्नुभयो । हाइकर्सको लागि खेलको ४५ औं मिनेटमा रोहन जिसीले गोल गर्नुभएको थियो ।
बागलुङ जेसीजको आयोजितामा संचालित प्रतियोगिताका १४ टिमको सहभागीता रहेको छ । फागुन २८ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।
प्रतियोगितामा भोली मंगलबार दुई खेल हुने प्रतियोगिताका संयोजक सुभम राजभण्डारीले बताउनुभयो । उहाँले मंगलबारको पहिलो खेल ७–८ फुटसल र आदर्श विद्यामन्दिर विच हुनेछभने दोस्रो खेल बागलुङ स्पोर्टस क्लब र बागलुङ कालिका युवा क्लब विच हुने बताउनुभयो ।
प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जेसीज बागलुङका अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो ।
यस्तै प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले नगद १२ हजार रुपैयाँ प्राप्त गर्नेछन्भने अनुशासित टिम र सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विधागत तर्फ प्रतियोगिताको सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने बागलुङ जेसीजले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै थापाले खेल क्षेत्रमा बागलुङ जेसिजले महत्वपुर्ण भुमिका निर्वाह गरेको बताउनुभयो । उहाँले जेसिजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि पनि समाजमा महत्वपुर्ण योगदान पु¥याएको बताउनुभयो ।
युवाहरुलाई खेलप्रति अग्रसर बनाउदै नयाँ खेलाडिको पहिचानसँगै खेलकुदको माध्यमबाट बागलुङलाई पर्यटनसँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको बागलुङ जेसिजका अध्यक्ष अन्जिला श्रेष्ठले बताउनुभयो ।










