कालिका कप पुरुष भलिबलः घले हार्भेस्टिङ र गौडाकोट सेमिफाइनलमा

बागलुङ, १३ चैत । हार्भेस्टिङ अस्टे«लिया र गौडाकोट भलिबल बागलुङमा जारी कालिका कप खुला पुरुष भलिबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेका छन् ।

बिहीबार भएको क्वाटर फाईनल खेलमा घले हार्भेस्टिङले भीमापोखरा खेलकुद विकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो । घलेले पहिलो सेट २५–१०, दोस्रो सेट २५–१४ र तेस्रो सेट २७–२५ ले आफ्नो पक्षमा पार्यो ।

यस्तै बिहिबार नै भएको दोस्रो क्वाटरफाइनल खेलमा गौडाकोट भलिबलले बागलुङ भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्यो । पहिलो सेट २०–२५ ले गुमाएको गौडाकोटले त्यसपछिका तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्यो । गौडाकोटले दोस्रो सेट २८–२६, तेस्रो सेट २५–१६ र चौथो सेट २५–१८ ले जित दर्ता गर्यो ।

शुक्रबार अन्य दुई क्वाटर फाइनलसंगै महिला भलिबल खेल सञ्चालन हुनेछ । पुरुष भलिबल प्रतियोगितामा ८ समुहको सहभागिता रहेको र लिक कम नकआउटको आधारमा खेलाईएको चैत्राष्टमी मेला व्यवस्थापन समितिका भलिबल संयोजक सचिन खड्काले जानकारी दिनुभयो ।

महिला भलिबल खेलमा ७ समुहको सहभागिता रहेको छ । महिला भलिबल पनि लिक कम नकआउटको आधारमा खेलाईनेछ । खुला पुरुष भलिबल प्रतियोगिताको विजेताले नगद ३ लाख मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले नगद १ लाख ५० हजार नगद मेडल ट्रफी र प्रमाणपत्र र तृतीय हुनेले नगद ५० हजार मेडल र प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजारले पुरस्कृत गरिनेछ ।

महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख मेडल ट्रफी र प्रमाणपत्र, द्वितीय हुनेले नगद ५० हजार मेडल ट्रफी र प्रमाणपत्र, तृतीय हुनेले नगद २५ हजार मेडल र प्रमाणपत्र भलिबल प्रतियोगिताका संयोजक अर्जुन खड्काले जानकारी दिए । महिला भलिबलमा पनि विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिनेछ । बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङको आयोजना भैरहेको मेलामा भलिबल प्रतियोगिताको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समिति बागलुङ र जिल्ला भलिबल संघ बागलुङले सहकार्य गरेको छ ।

परापूर्व कालदेखि नै परम्परागत रपमा स्वतःस्फुर्त लाग्दै आएको मेला अहिले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले व्यवस्थीत रुपमा आयोजना गरेर विभिन्न प्रतियोगिताहरु आयोजना गरेको अध्यक्ष भुपेन्द्र खड्काले बताए । मेलाको आकर्षणको रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक प्रस्तुती, रमाईलो मेला, बाल उद्यान, घरेलु तथा स्थानीय वस्तुहरुको खरिद विक्री लगायतका रहेका छन् ।