हिसान गण्डकी फुटसलको उपाधि चिल्ड्रेन लाईफलाई

बागलुङ, १७ फागुन । चौथो हिसान गण्डकी फुटसल प्रतियोगिता–२०८२ को उपाधि बागलुङको चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुलले जितेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आईतबार भएको फाइनल खेलमा प्लस २ तर्फ चिल्ड्रेन लाईफले पोखराको स्टेप बाई स्टेप सेकेन्डरी स्कूललाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

चिल्ड्रेन लाईफको लागि खेलको चौथो मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका आयुष पौडेलले खेलको १४ औं मिनेटमा आफ्नो लागि र टिमको लागि दोस्रो गोल गरेका थिए ।

स्टेप वाई स्टेपको लागि खेलको ३० औं मिनेटमा कुँवरले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, खेलको ३५ औं मिनेटमा चिल्ड्रेन लाईफका कप्तान बरदान थापाले गोल गर्दै टिमलाई ३–१ को जित निश्चित गरे ।

प्रतियोगिताको प्लस–२ तर्फ विजेता चिल्ड्रेन लाईफले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता स्टेप बाई स्टेप सेकेन्डरीले नगद ५० हजार रुपैयाँ, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) गण्डकीको आयोजना तथा सविन मेमोरियल क्लबको व्यवस्थापनमा प्रतियोगिता संचालन भएको थियो । प्लस–२ समूहमा कास्कीबाट ८ टोली, बागलुङबाट ३ टोली, तनहुँबाट ३ टोली तथा पर्वत र म्याग्दीबाट समान १–१ टोलीले सहभागीता जनाएका थिए ।