
बागलुङ, २० पुस । बागलुङको एक सहकारी संस्थाका शेयर सदस्यहरुले आफनो साधारणसभा मार्फत सहकारीबाट ऋण लगेर तिर्न अटेर गर्नेहरुलाई ऋण मिलान गर्न आव्हान गरेका छन् ।
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९ औँ वार्षिक साधारणसभामा सहभागी संस्थाका शेयर सदस्यहरुले पछिल्लो समय सहकारीको ऋण मिनाहा हुन्छ, गर्नु पर्छ, तिर्नु हुदैन भने अभियान चलाउनेहरुलाई सचेत बनाएका हुन् । सहकारीमा सदस्यहरुले जम्मा गरेको वचत सदस्यहरुलाई नै लगानी गरिएको हुन्छ, ऋण लगेको सदस्यले समयमा ऋणको किस्ता र ब्याज मिलाउने भन्दा पनि सहकारीको ऋण मिनाहा गर्नु पर्छ भन्ने अभियान सञ्चालन गर्नेहरु समाज भडुवाहरु हुन् भन्दै त्यस्ताहरुको पहिचान गर्नु पर्नेमा जोड दिएका छन् ।
बागलुङमा केही समाजका अगुवा व्यक्तिहरु नै सहकारीको ऋण मिनाहा हुन्छ, तिर्नु पर्दैन भन्दै अभियान सञ्चालन गर्दै हिडेका छन् । सहकारीको मात्र होइन, कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्ने दायित्व ऋणीको हो, समस्या परेर समयमा तिर्न नसक्नु एउटा पाटो हो, ऋण नै मिनाहा गर्नु पर्छ भन्दै अभियान चलाउनेहरुको सहकारीका सदस्यहरुले प्रतिवाद गर्नु पर्ने सहभागीहरुको भनाइ थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरी क्षेत्रको सहकारी अभियानको प्रवद्र्धनमा २ दशकदेखि नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै प्रवद्र्धनमा योगदान गर्दै आएको छ, सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि आगामी दिनमा थप सक्रियताका साथ अगाडि बढ्न समेत सदस्यहरुले सुझाव दिएका छन् ।
सहकारीमा सञ्चालक, कर्मचारी र सदस्यहरुको बद्मासी तथा लापार्वाहीका कारण विगतमा समस्या आएका छन्, जे कारण समस्या भएको हो, त्यसको यथार्थ आम शेयर सदस्यहरुलाई जानकारी हुने गरी सञ्चारमार्फत सचेत बनाउन सहभागीहरुले आग्रह गरेको संस्थाका प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो । २ दशकदेखि धौलागिरी क्षेत्रमा सूचना तथा सञ्चार, वचत तथा ऋण र सामाजिक क्रियाकलाप सञ्चालनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको आदर्श सञ्चार सहकारी संस्थाले आगामी माघ १ गतेदेखि सबै सदस्य : सक्रिय सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
सहकारी सदस्यहरुको सक्रिय सहभागितामा सञ्चालन हुने व्यवसाय हो, सदस्यहरु सक्रिय भए, सचेत भए, संगठित भए भने सहकारीमा समस्या आउदैन, संस्थाका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) ले भन्नुभयो,‘साधारणसभाले माघ महिनादेखि सबै सदस्य : सक्रिय सदस्य अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।’
सल्लाहकारहरुका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थापक अध्यक्ष मन कुमारी केसीले सहकारी अभियान, सदस्यहरुको क्षमता विकास, नेतृत्व विकास लगायत वित्तीय तथा सूचना सञ्चारको क्षेत्रमा आदर्श सञ्चारको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । संस्थाको समग्र अवस्था, खराब ऋण, तरलता र ऋण असुलीको विषयमा सम्पादक राम बहादुर जिसीले सहजीकरण गर्नुभएको थियो ।
जिसीले सहकारीले आफ्ना सदस्यसंग कारोबार गरेको छ, ऋण लगानी गरेको छ भने संस्थामा आउने समस्या समाधानका लागि सञ्चालकसंगै ऋणी र जमानतकर्ता समेत जिम्मेवार हुने विषयमा जानकारी गराउनु भएको थियो
साधारण सभामा संस्थाका सचिव सरस्वती खड्का परियारले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शान्ति लक्ष्मी श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन संयोजक अनन्त बहादुर खड्काले प्रस्तुत गर्नुभएको थियो । साधारणसभामा प्रस्तुत सबै प्रतिवेदन सर्वसम्मतीले पारित भएको प्रवन्धक दिपकराज सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रम सहकारीका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) को अध्यक्षता, उपाध्यक्ष ललिता थापाको स्वागत तथा सह–सम्पादक सृजना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।








