
बागलुङ, १७ भदौ । गुहेंली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १९औँ वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सदस्य लिलबहादुर थापा मगरले समाजमा पहिलाजस्तो हार्दिकता हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले पहिले छिमेकमा अैचोपैचो चल्ने गरेपनि अहिले स्वार्थ बढ्दै गएको बताउनुभयो । “पहिला छिमेकीसँग आगोसमेत सापटी लिने चलन थियो, तर अहिले हामी स्वार्थी बन्दै गएका छौं । अरूलाई दिन खोज्दैनौं, सबै कुरा आफैँलाई चाहिन्छ” उहाँले भन्नुभयो ।
सहकारी क्षेत्रमा देखिएको अपारदर्शिता र अनियमितताप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्रदेशसभा सदस्य थापाले सहकारी ठग्नेलाई कुनैपनि हालतमा नछाडिनुपर्ने धारणा राख्नुभयो । “सहकारी ठग्नेलाई जुन पार्टीको भए पनि कारबाही हुनुपर्छ,” उहाँले भन्नुभयो,“भ्रष्टाचारले समाजलाई खोक्रो बनाउँछ । एक न एक दिन, भ्रष्टाचारीहरू कारबाहीको घेरामा पर्छन् ।”
थापाले नयाँ पुस्ताका नागरिकले स्वदेशमै रोजगारी सिर्जना गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिँदै दिनुभयो । उहाँले विदेश पलायन हुनुभन्दा स्वदेशमै अवसर खोज्नुपर्ने र सरकारले गल्ती गर्नेहरुलाई कारबाही गर्न सके समाज सुधारतर्फ अघि बढ्ने उल्लेख गर्नुभयो ।
प्रदेशसभा सदस्य थापाले परम्परागत नेपाली जीवनशैली र खाद्यान्नको महत्वमा जोड दिनुभयो । “कोदो, मकै, भटमास खाएर तागत बढाउने चलन हाम्रो संस्कृति हो,” उहाँले भन्नुभयो,“अहिलेका बालबालिकाहरू बजारका खानामा निर्भर भइरहेका छन्, तर साँचो शक्ति त परम्परागत खाना र जीवनशैलीबाटै आउँछ ।”
साधारणसभाको उद्घाटन सत्रमा काठेखोला गाउँपालिकाका संस्थापक अध्यक्ष तथा सहकारीका सल्लाहकार अमर थापा, काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका वडाअध्यक्ष विद्यापति शर्मा, जिल्ला दुग्ध उत्पादक संघ बागलुङका अध्यक्ष दिपक गौतम, सहकारीका सल्लाहकारहरु टिकाराम सापकोटा, चन्द्रमणि उपाध्याय र ढोरपाटन दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहोराले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारण सभाले सहकारीका सचिव सुर्य बहादुर थापाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष टिकाराम शर्माले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
सहकारीले गतआर्थिक वर्ष २०८१/०८२ मा उत्कृष्ट कारोबार गर्ने रामकुमारी थापा क्षेत्री र दलबहादुर सार्की र बाल बचतकर्ता सदिक्षा कार्कीलाई सम्मान गरेको थियो । यस्तै सहकारीमा स्थापना भएको कला गौरी स्मृति कोषबाट यस बर्षको पत्रकारीता पुरस्कार कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक प्रकाश बराललाई प्रदान गरिएको छ । सहकारीका संस्थापक उपाध्यक्ष टिकाराम उपाध्यायले आमाबाबुको स्मृतिमा स्थापना गरेको कोषबाट हरेक बर्ष संस्थाका शेयर सदस्य मध्येबाट एक जना पत्रकार र एक जना ज्येष्ठ शेयर सदस्यलाई पुरस्कृत गरिँदै आएको छ । बराललाई पत्रकारीता क्षेत्रमा योगदान पुर्याएको भन्दै नगदसहित उक्त पुरस्कार प्रदान गरिएको हो । त्यस्तै सहकारीका ज्येष्ठ शेयर सदस्य भक्तबहादुर रसाइलीलाई कोषले सम्मान गरेको थियो ।
साधारणसभामा गुहेंलीका संस्थापक संचालक र सहकारीमा एकीकरण भएका सहकारीका संस्थापकहरुलाई समेत सम्मान गरेको थियो । सहकारीलाई स्थापनादेखि हालसम्म संचालनमा महत्वपूर्ण योगदान गरेको भन्दै गुहेंली सञ्चार सहकारीका संस्थापक संचालक प्रकाश के.सी., गुहेंलीमा एकीकरण भएको युनिक सञ्चार सहकारीका संस्थापक उपाध्यक्ष रामकृष्ण बोहोरा, सूर्यमुखी कृषि तथा पशु वयवसायिक सहकारीका संस्थापक अध्यक्ष ऋषिराम शर्मा र सक्षम बचत तथा ऋण सहकारीका संस्थापक उपाध्यक्ष डोलेन्द्र गौतमलाई सम्मान गरिएको थियो ।
सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा उपाध्यक्ष गिता हमालले स्वागत मन्तव्य र सचिव सुर्य बहादुर थापाले संचालन गर्नुभएको थियो ।
सहकारीले गतआर्थिक वर्ष २०८१/०८२ मा ६ करोड ८८ लाख ४५ हजार १ सय ४० रुपियाँ कारोवार गरेको कोषाध्यक्ष शर्माले बताउनुभयो । सहकारीमा एक करोड २३ लाख २४ हजार ५ सय शेयर पुँजी रहेको छभने १ करोड ७९ लाख ५१ हजार १ सय ९७ रुपियाँ निक्षेप रकम, २ करोड १८ लाख ७२ हजार ९ सय ऋण लगानी, २ लाख ३४ हजार वित्तिय लगानी र ३ करोड ४८ लाख ७७ हजार ९ सय ९५ रुपियाँ कुल सम्पत्ति रहेको कोषाध्यक्ष शर्माले जानकारी दिनुभयो ।
२०६४ सालमा काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखरामा ३४ जना शेयर सदस्यबाट सुरु भएको सहकारीमा हालसम्म ९ सय ११ जना शेयरसदस्य रहेका छन् । भीमापोखरामा मुख्य कार्यालय रहेको सहकारीले बागलुङ बजारमा सेवा केन्द्र संचालन गरेको छ । सहकारीले जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाईन संचालन गर्दै आएको छ ।











