
बागलुङ, २३ वैशाख । जिल्ला खेलकुद विकास समिति बागलुङको अध्यक्ष कृष्ण प्रसाद कँडेल मनोनीत हुनुभएको छ । प्रदेश खेलकुद परिषद् गण्डकीको सोमबारको निर्णयले चार वर्षे कार्यकालका लागि काठेखोला गाउँपालिका वडा नं. ५ बिहुँका कँडेललाई अध्यक्षमा नियुक्त गरेको हो ।
सितोरियो कतारेका चौथो डान रहनुभएका कँडेल दुई दशक देखि खेलकुदमा क्रियाशील रहेका हुनुहुन्छ । पछिल्लो १२ वर्षदेखि बागलुङका ग्रामिण क्षेत्रमा समेत खेलकुद विस्तार र खेलाडी उत्पादनमा सक्रिय रहदै आउनुभएको छ ।
यस्तै सोमबार नै कोषाध्यक्षमा गलकोट नगरपालिकाका योगेश बहादुर भण्डारी नियुक्त हुनुभएको छ ।
यसअघि समितिको उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापा नियुक्त हुनुभएको छ । गण्डकी प्रदेशमा काँग्रेस र एमालेले भागभण्डाको आधारमा मनोनित गर्ने क्रममा बागलुङको उपाध्यक्ष र सचिव यसअघि नै मनोनित भएपनि अध्यक्ष र कोषाध्यक्ष भने मनोनित हुन सकेको थिएन । गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरू गत फागुन ९ गते रिक्त भएका थिए । जिल्ला समितिमा पदाधिकारी चयन भएपनि सदस्यहरु चयन हुन बाँकी छ ।
१७ सदस्यीय जिल्ला खेलकुद विकास समितिमा खेलकुद परिषदको प्रावधान अनुसार सदस्यमा परिषदका सदस्य सचिवबाट बिभिन्न खेलमा पदक प्राप्त गरेका या सहभागी भएकाबाट १ जना मनोनित गर्ने प्रावधान रहेको छ । समितिको सदस्यमा स्थानीय तहमा गठन भएका खेलकुद समितिबाट जिल्ला समितिले मनोनित गर्ने तीन जना, जिल्लाका खेल संघबाट एक जना महिलासहित जिल्ला समितिले मनोनित गर्ने तीन जना रहने व्यवस्था रहेको समितिका सचिव किशोर थापाले जानकारी दिनुभयो ।
त्यसैगरी संस्थागत तथा सामुदायिक विद्यालयबाट प्रतिनिधित्व हुने गरी जिल्ला समितिले मनोनित गर्ने दुई जना, उद्योगी व्यवसायीबाट एक जना, प्रहरी/प्रशासन र जिल्ला समन्वय समितिबाट प्रतिनिधीत्व गर्ने गरि एक÷एक जना सदस्य रहने व्यवस्था रहेको सचिव थापाले बताउनुभयो ।
नियुक्त पदाधिकारीहरुले मंगलबार पदभार ग्रहण गर्नुभएको छ । शपथ ग्रहणपछि अध्यक्ष कँडेलले खेलाडी उत्पादन र खेलकुद पूर्वाधार विकासका लागि समर्पित भएर लाग्ने बताउनुभयो । उहाँले जिल्लाको खेलकुद गतिविधिलाई अगाडि बढाउन सबैको साथ र सहकार्य आवश्यक रहने बताउँदै खेलकुदका गतिविधिलाई ग्रामिण तहसम्म पु¥याउन प्रयत्न गर्ने प्रतिवद्वता जनाउनुभयो ।








