
पोखरा, २३ वैशाख । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।
संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ । ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण गरिने उनले बताए । सोही अवसरमा समाजिक अभियन्तालाई विशेष सम्मान गर्ने कार्यक्रम छ ।
कोटीहोममा सोमबार पनि भक्तजनको उत्साहजनक सहभागिता रहेको आयोजकले दावी गरेको छ । प्रचारप्रसार संयोजक ढकालका अनुसार १९ दिन कोटीहोम चल्दै गर्दा करिब एक लाख ६५ हजार भक्तजन सहभागी भए । कोटीहोममा सोमबार बिहान ८ः०५ बजे हवन कुण्डमा हवन गरिएको छ । एक सय वटा हवन कुण्डमा तीन, तीन जना ब्राह्मणले भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका थिए । साथै एक सय आठ भागवत महापुराण पाठ परायण, चार वेद पाठ परायण, सप्तचण्डी, अति रुद्री, मन्त्र जपलगायतमा ब्राह्मणले पाठ गरे ।
शनिबारदेखि खुला भजन चुट्का प्रतियोगिता अझै जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सय जनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुनेलाई तीन लाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुई लाख ५५ हजार पाँच सय ५५, तृतीय हुने समूहलाई एक लाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था गरिएको छ ।










