म्याग्दीका पत्रकारलाई १० लाखको दुर्घटना बिमा पोलिसी हस्तान्तरण

म्याग्दी, २० वैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले जिल्लामा क्रियाशील पत्रकारहरूको सुरक्षाका लागि दश लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शनिबार शाखामा आयोजित कार्यक्रममा जिल्लाका क्रियाशिल २१ जना पत्रकारको दुर्घटना बिमा तथा आर्थिक सहयोग गरिएको हो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, शाखा अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष धनश्याक खड्काले पत्रकारलाई दुर्घटना बिमा हस्तान्तरण गरेका थिए ।

म्याग्दीका तीन वर्षदेखि क्रियाशील पत्रकारहरूको दुर्घटना बीमा गरिएको छ । दुर्घटना बिमाका लागि शिखर इन्स्योरेन्ससँग सम्झौता गरिएको छ । यो योजनाअन्तर्गत पत्रकारहरू कार्यक्षेत्रमा खटिएका बेला वा अन्य पेशागत कार्यका क्रममा दुर्घटनामा परेमा मृत्यु वा पूर्ण अशक्तताका लागि दश लाख रुपैयाँसम्म र घाइते भएमा उपचारका लागि एक लाख रुपैयाँसम्मको लाभ प्रदान गरिनेछ । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष पौडेलले पत्रकारको पेशागत सुरक्षाका लागि नयाँ कार्यसमितिका कार्यहरु प्रशंसनीय भएको बताए । ‘कसैको पनि दुर्घटना नहोस् भन्ने हाम्रो कामना हो, तर आकस्मिक घटनामा राहत प्रदान गर्न यो बीमा योजना उत्कृष्ट छ ।’ प्रमुख अतिथि पौडेलले भने ।

यसैबीच मृगौला रोगबाट ग्रसित म्याग्दीकाली एफएमका कार्यरत सञ्चारकर्मी दिपा बुढाथोकीकी आमा लिला पुनको उपचारका लागि पत्रकार महासंघको आपतकालिन कोषबाट ३२ हजार ५ सय सहयोग हस्तान्तरण गरिएको छ ।

पत्रकार महासंघले सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुका साथै परिवारका सदस्य वा कुनै समस्या परेमा कोषमार्फत सहयोग गर्ने छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता गौतम, स्वागत उपाध्यक्ष दलप्रसाद विश्वकर्मा र सञ्चालन सचिव ठाकुरप्रसाद आचार्यले गरेका थिए ।

जिल्ला शाखा म्याग्दीका अध्यक्ष गौतमले पत्रकार तथा परिवारका सदस्यलाई समेत महासंघमार्फत सहयोग उपलब्ध गराउने बताउँदै पेशागत क्षमताका लागि समते निरन्तर सक्रिय हुने बताए ।