युनियन सहकारीको खुद मुनाफा पाँच लाख २१ हजार

बागलुङ, १४ पुष । युनियन बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङको १७ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै संस्थाका पूर्वअध्यक्ष एवं सल्लाहकार दुर्गा कुँवरले सबै सेयर सदस्यको सहयोगबाट सहकारी राम्रो बन्ने र सहकारीको सहयोगबाट सेयर सदस्यले लाभ लिने बताउनुभयो ।

‘सबै सदस्यको साझा प्रयासबाट सहकारीले प्रगति गर्छ र सहकारीको प्रगतिले सेयर सदस्यको पनि प्रगति हुन्छ,’ उहाँले भन्नुभयो,‘बागलुङका केही ठूला सहकारीमा आएको समस्याका कारणले गर्दा अहिले सहकारी क्षेत्र केही अप्ठ्यारोमा छौं । सबैको प्रयासबाट यो समस्याबाट पार पाउनेछौं ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । युनियन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष अगमकुमार पालिखेको अध्यक्षतामा भएको साधारणसभामा स्वागत उपाध्यक्ष मंगल सुवेदी र सञ्चालन सचिव अस्मिता गौतमले गरेका थिए ।

साधारणसभामा सचिव अस्मिता गौतमले प्रगति प्रतिवेदन, कोषाध्यक्ष खगराज शर्माले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण उपसमिति संयोजक चन्द्रकान्त पौडेलले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सहकारीले गत आर्थिक वर्षमा पाँच लाख २१ हजार बढि खुद मुनाफा गरेको छ ।

सहकारीको एक करोड २५ लाख ८४ हजार चुक्ता पुँजी, ३९ लाख २३ हजार कोष, चार करोड ४७ लाख ३६ हजार निक्षेप रहेको छ ।

सहकारीले साधारणसभाको अवसरमा उत्कृष्ट आवधिक बचतकर्ता रितु कुँवर, उत्कृष्ट कारोबार गिताराम पौडेल, चल्ती बचतमा केदारनाथ सापकोटा, असल कारोबार सज्जनकुमार श्रेष्ठलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट विद्यार्थी आश्रय पालिखे र करुणा सुवेदीलाई पनि सम्मान गरिएको थियो ।