आँबुखैरेनी बस दुर्घटना अपडेट : भैरहवा नाकाबाट भित्रिएको थियो भारतीय बस

सलमान खान
भैरहवा, ७ भदौ । तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा नजिक मस्र्याङ्दी नदीमा खसेको भारतीय नम्बरको यात्रुवाहक बस रुपन्देहीको बेलहिया (भैरहवा) नाकाबाट भित्रिएको खुलेको छ ।

पोखराबाट काठमाण्डौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रवार मस्र्याङ्दी नदीमा खसको थियो ।

भैरहवा भन्सार कार्यालयको सूचना प्रविधि शाखाका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बर प्लेटको भारतीय बस भदौ ४ गते आठ दिनको भन्सार प्रक्रिया पुरा गरी बेलहिया नाकाबाट मुलुकमा भित्रिएको हो । उक्त बस भदौ ११ गते फर्किने गरी भन्सार प्रक्रिया पुरा गरिएको थियो ।

दुर्घटनामा परेको बसमा सवार यात्रुहरुको उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन । यूपीको गोरखपुरमा रहेको केसरवानी ट्रभाल्सबाट बुक गरिएको बसमा पर्यटकहरु नेपाल आएका थिए । बसमा सवार यात्रुहरु भारतको महाराष्ट्रको रहेको बताइएको छ ।

उनीहरु भारतको इलाहबादबाट बसमा सवार भएर चित्रकुट धामको दर्शन गरी गोरखपुर हुदै नेपाल भित्रिएका थिए । ११० जना पर्यटकहरुको नेपाल भ्रमणका लागि केसरवानी ट्रभाल्सबाट तीन वटा बस बुक गरिएको थियो । जसमध्ये ४५ सिट संख्या रहेको उक्त एउटा बसको दुर्घटना भएको हो ।