गलकोटमा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता

बागलुङ, ३२ श्रावण । बागलुङमा माछा मार्ने क्रममा खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन् ।

शुक्रबार विहान गलकोट नगरपालिका वडा नम्बर ६ मजुवा स्थित दरमखोलामा माछा मार्ने क्रममा एक युवालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । गलकोट नगरपालिका–१० घरभई वडा नम्बर ६ मजुवा बस्ने ४२ वर्षिय रमेश परियारलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बागलुङ बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपि) विजय यादवले जानकारी दिए ।

रमेश परियारका दाजुभाई शुक्रबार विहानै दरमखोलामा माछा मार्न गएको र दाई रमेशलाई खोलाले बगाएपछि भाई मनोज परियारले इलाका प्रहरी कार्यालय हरिचौरमा जानकारी गराएका थिए ।

बेपत्ता युवाको प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् । घटनास्थलमा रहेका प्रहरी नायव निरिक्षक तोरणध्वज पौडेलले बिहिबार रातभरी पानी परेकोले खोलाको बहाव समेत बढेको कारण खोजी कार्यमा कठिनाई भएको बताए ।