हाजिरीजवाफ प्रतियोगितामा नमुना आवासिय माध्यमिक विद्यालय प्रथम

रोहन जि.सी.
बागलुङ, २५ चैत्र । साविक धौलागिरी अञ्चल स्तरीय व्यवस्थापन संकायमा आधारित माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा पर्वतको नमुना आवासिय माध्यमिक विद्यालय प्रथम भएको छ ।

बागलुङको धवलागिरि बहुमुखी क्याम्पस अन्तर्गतको बिबिए संकायमा गठित बिबिए गुणस्तर समूहले आईतबार आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा पर्वतको नमुना आवासिय मावि प्रथम, बागलुङको चिल्ड्रेन लाईफ इङ्गलिस बोर्डिङ स्कुल द्धितिय र न्यू ओएसिस एकेडेमी तृतीय भएका छन् । प्रतियोगिताका प्रथम, द्धितिय र तृतीय क्रमले क्रमशः नगद १५ हजार, १० हजार र ५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै धवलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिन बहादुर थापाले राष्ट्रिय परिक्षा बोर्ड अन्तर्गत कक्षा १२ को परिक्षा अर्थात एसएलसी परिक्षा नजिकिदै गर्दा आयोजित हाजिरीजवाफ प्रतियोगिताले विद्यार्थीको अध्ययनमा सहयोग पुगेको बताउनुभयो ।

कार्यक्रममा धवलागिरि बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर राम प्रसाद उपाध्याय, बैङ्कर्स बागलुङका अध्यक्ष तथा ग्लोबल आईएमई बैंक बागलुङ शाखाका प्रमुख हेमराज शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतियोगितामा व्यवस्थापन संकायतर्फ कक्षा १२ मा आधारित पाठ्यक्रम सहित सामान्य ज्ञान, समसामायिक, नेपाली, सामाजिक, अङ्ग्रेजी, अर्थशास्त्र, लेखाशास्त्र, अडियोरभिडीयो र र्यापिड फायर राउण्ड गरी ९ विधामा प्रश्न सोधिएको क्याम्पसका बिबिए कार्यक्रम संयोजक जोहन ब्रजाचार्यले जानकारी दिनुभयो ।

प्रतियोगितामा साविक धौलागिरी अञ्चल भित्रका पर्वत, बागलुङका ९ विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रम बिबिए गुणस्तर समूहका अध्यक्ष नारायणदत्त खरालको अध्यक्षता, सचिव दिपसागर सुवेदीको सञ्चालन तथा कोषाध्यक्ष विरेन्द्र सापकोटाको स्वागतमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here