बागलुङमा मतदान केन्द्र निर्माणलाई तीब्रता

बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ को महेन्द्र मावि मतदानस्थलमा मतदान केन्द्र निर्माण गर्दै सुरक्षाकर्मी र कर्मचारी ।

बागलुङ, ३ मंसिर । बागलुङमा मतदान केन्द्र निर्माणको कार्यलाई तीव्रता दिइएको छ । आईतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तोकिएका मतदान स्थल र मतदान केन्द्रहरू निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।

बागलुङमा निर्वाचनका लागि १ सय ६ मतदानस्थल र २ सय ३१ केन्द्र तोकिएको छ । केही मतदान स्थल र मतदान केन्द्र निर्माण कार्य सक्किएको र केही निर्माणको चरणमा रहेको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माले बताए ।

उनले मतदानस्थल र मतदान केन्द्रहरूमा मतदाताको लाइन निर्माण, मतदान गराउने कर्मचारी बस्ने स्थान, मतपेटिका राख्ने स्थान लगायतको व्यवस्थापनको कार्य भइरहेको बताए । उनले आज (शनिबार) बेलुकासम्म सम्पूर्ण निर्माण कार्य सम्पन्न हुने बताए ।

बागलुङमा दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र छन् । दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य पदको लागि ३१ जना उम्मेदवारहरू चुनावी मैदानमा रहेका छन् ।

निर्वाचनमा मतदान गराउनका लागि बागलुङमा २ हजार ७ सय ९० जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले जानकारी दिए । उनले २ सय ३१ मतदान अधिकृत, २ सय ३५ सहायक मतदान अधिकृत, १ हजार १ सय ५५ सहायकस्तरका कर्मचारी, २ सय ३३ जना सहयोगी कर्मचारी र ९ सय २६ जना स्वयंसेवक मतदान केन्द्रमा खटाइएको बताए ।

यस्तै मतदानस्थलको सुरक्षा व्यवस्था समेत कडा पारिएको प्रमुख जिल्ला अधिकारी रमेश ढकालले बताए । बागलुङमा निर्वाचन बहिस्कार गर्ने दुई समूह सक्रिय छन् । नेकपा मसालबाट फुटेको नेकपा (मशाल) र धर्मेन्द्र बास्तोलाको नेकपा बहुमत समूहले बहिस्कारको नारासहित प्रचार गरिरहेका छन् ।

केही दिन पहिले दुवै समूहका नेता कार्यकर्ता बहिस्कारको कार्यक्रम गर्दैगर्दा पक्राउ परेर तारेखमा छुटेका थिए । निर्वाचन बहिस्कारको घोषणा गरेका समूहहरू सुरक्षाकर्मीको निगरानीमा रहको प्रमुख जिल्ला अिधकारी ढकालले बताए ।

बागलुङा सुरक्षा संवेदनशीलता रहेको स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको सुरक्षा घेरा दिने गरी व्यवस्था मिलाइएको प्रजिअ ढकालले बताए । बागलुङमा सुरक्षाका लागि मतदानस्थलमा एक हजार एक सय ३६ जना म्यादी प्रहरी र ६५९ जना नेपाल प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले बताए । आवश्यकताको आधारमा सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको प्रजिअ ढकालले बताए ।

जिल्लामा दुई निर्वाचन क्षेत्रमा १ लाख ९२ हजार २२७ मतदाता रहेका छन् । यो २०७४ को चुनावमा भन्दा २४ हजार ९४५ ले बढी हो । २०७४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा १ लाख ६७ हजार २८२ मतदाता थिए । यस पटक महिला ९८ हजार ६४३ र पुरुष ९३ हजार ५८४ जना रहेका छन् ।

सबैभन्दा धेरै मतदाता निर्वाचन क्षेत्र नम्बर १ मा रहेका छन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार क्षेत्र नम्बर १ मा ९६ हजार ६ सय ६६ र क्षेत्र नम्बर २ मा ९५ हजार ५ सय ६१ जना मतदाता रहेको छन् ।

प्रदेश तर्फ बागलुङ क्षेत्र नम्बर १ को (क)मा ५० हजार ५ सय ८० जना र (ख) मा ४६ हजार ८६ जना मतदाता रहेका छन्भने क्षेत्र नम्बर २ को (क)मा ५४ हजार ३ सय ३४ र (ख)मा ४१ हजार २ सय २७ जना मतदाता रहेको सूचना अधिकारी शर्माले बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here