
बागलुङ, २८ कार्तिक । बागलुङ जिल्लाको सदरमुकाम बागलुङ बजार क्षेत्रमा रहेका अव्यवस्थित तार र पुराना विद्युतका पोललाई हटाउन सुरु गरिएको छ । बागलुङ नगरपालिकाले बजारक्षेत्रको सौन्दर्यकरणका लागि नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकमको सहकार्यमा पुराना तार र जीर्ण अवस्थामा रहेका तथा प्रयोगविहीन विद्युतका पोल हटाउने अभियान शुरु गरिएको हो ।
बजारको सडक नै अवरोध हुने गरी गाडिएका पोलहरुका कारण ट्राफिक व्यवस्थापनमा समेत समस्या हुँदै आएको र बजारको सौन्दर्यकरणमा समेत असर गरेकोले जिर्ण तथा प्रयोगविहीन पोल र अव्यवस्थित तारहरु हटाउन सुरु गरेको बागलुङ नगरपालिका–२ का वडा सदस्य तथा पोल तथा तार व्यवस्थापन एवं बजार व्यवस्थापन समितिका संयोजक अर्जुन घिमिरेले बताए । उनले पहिलो चरणमा बजारका मुख्य सडकहरुमा रहेका एक सय १० वटा पोलहरु हटाइने बताए । ‘बजारको सौन्दर्यकरणमा जिर्ण तथा प्रयोगविहीन पोलहरु र अव्यवस्थित तारहरुले समस्या पैदा गरेको छ,’ वडा सदस्य घिमिरेले भने,‘पहिलो चरणमा (एक महिना भित्र) नगरपालिकाको वडा नम्ब १, २, ३ र ४ मा रहेको बजार क्षेत्रका एक सय १० वटा पोलहरु हटाउन लागिएको हो ।’
नगरपालिकाले गतवर्ष पनि बजार क्षेत्रका केहि अव्यवस्थित पोलहरु हटाएपनि विचमा काम रोकेको थियो । यस पटक बजारमा पोल तथा तारहरु विस्थापित गर्नका लागि बागलुङ नगरपालिकाको संयोजकत्वमा नेपाल टेलिकम, विद्युत् प्राधिकरण, केवल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी लगायतको समिति गठन गरि अव्यवस्थित पोलहरुको छनौट गरि हटाउन सुरु गरिएको संयोजक घिमिरेले बताए ।
बागलुङमा विद्युत प्राधिकरणले नाङ्गो तार विस्थापित गरी नयाँ पोलहरुमा कभरसहितको एबीसी तार राखेपछि पुराना पोलहरु विद्युत् प्रसारणका हिसावले प्रयोग विहीन भएको तर इन्टरनेट तथा केबलका तारहरु नहटाउँदा जिर्ण बनेका पोलका कारण बजार क्षेत्रको सौन्दर्य कुरुप बन्दै गएको थियो । बागलुङमा नेपाल टेलिकमले समेत फाइबर नेट संचालन गरेर अव्यवस्थित तारहरुलाई प्रतिस्थापन गरिसकेपनि निजी इन्टरनेट कम्पनीहरुका तारले पुराना पोलहरु हटाउन सकिएको थिएन । निजी इन्टरनेट कम्पनीका तारहरुलाई पनि व्यवस्थित गराउन निर्देशन दिएर पुराना पोलहरु हटाएको संयोजक घिमिरेले बताए ।
उनले विद्युत कार्यालय, नेपाल टेलिकम र निजी इन्टरनेट कम्पनीसँग सहकार्य गरेर नै पुराना पोलहरु हटाइरहेको बताए । ‘विद्युत कार्यालयले नाङ्गो तारलाई प्रतिस्थापन गरेपछि नयाँ पोल राखेको थियो,’ संयोजक घिमिरेले भने,‘नेपाल टेलिकमले पनि फाइबर नेट जडान गरेर पुराना टार हटायो तर निजी इन्टरनेट कम्पनीले पुरानै तारबाटै सेवा प्रदान गरिरहेका कारण पोलहरु अव्यवस्थित गरिरहेका थिए त्यसैले हामीले हटाउन लागिएको हो ।’
संयोजक घिमिरेले बजार क्षेत्रमा ४, ५ सय अव्यवस्थित पोलहरु रहेकाले विस्तारै सवै विस्थापन गर्ने योजना रहेको बताए । उनले पोल हटाउनको लागि विद्युत कार्यालय, नेपाल टेलिकम र निजी इन्टरनेट कम्पनीले प्राविधिक सहयोग गरेको र अन्य खर्च नगरपालिकाले व्यहोर्ने बताए । ‘पुराना पोलहरु हटाउँदा निजी इन्टरनेट कम्पनीले आफ्ना तारहरु नयाँ पोलमा सार्नुपर्छ,’ संयोजक घिमिरेले भने,‘तारहरु व्यवस्थित नगरेर सडकमै छाडेमा हामीले काटिदिनेछौं ।’
बजारमा अव्यवस्थित तथा जिर्ण पोलको कारण बजारमा ट्राफिक जाम समेत हुँदै आएको थियो ।










