म्याग्दीमा आठ वटा मतदान केन्द्रको नेतृत्व महिलालाई

ठाकुरप्रसाद आचार्य
म्याग्दी, २७ कार्तिक । म्याग्दीका एक सय २० मतदान केन्द्रमध्ये आठ वटामा महिलालाई मतदान अधिकृत तोकिएको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा मतदान केन्द्रलाई समावेशी बनाउन र मतदान अधिकृतको नेतृत्व गर्ने अवसर महिलालाई दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बेनी नगरपालिका २ कारागारमा स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीसमेत महिला तोकिएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले जानकारी दिनुभयो। ‘निर्वाचन गराउने कर्मचारी छनाेट गर्दा महिला कर्मचारीलाई प्राथमिकतामा राखेका थियौं’, उहाँले भन्नुभयो, ‘मतदान अधिकृत भएर जान इच्छुक महिला कर्मचारीलाई हामीले खटाएका छौं।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार प्रतिज्ञा सुवेदी मुक्ति मार्ग मावि, घार (ख) केन्द्र, लालमाया छन्त्याल ताकम मावि, ताकम (क) केन्द्र, करुणा कार्की रामचन्द्र मावि, अर्जम, साधनाकुमारी श्रेष्ठ राष्ट्रिय मावि नेप्टेचौर (ख) केन्द्र, उमादेवी कँडेल जनप्रिय मावि दरवाङ (क) केन्द्र, शान्ति खत्री हिमाल आधारभूत विद्यालय पात्लेन, अम्बिका शर्मा अस्थायी केन्द्र कारागार र पवि थापा मङ्गला मावि बावियाचौर (ख) केन्द्रका लागि मतदान अधिकृतको रुपमा जानुभएको छ।

मतदान गराउने नेतृत्व पाएपछि महिला कर्मचारी उत्साहित भएका छन्। जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको तालिममा सहभागी मतदान अधिकृत लालमाया छान्त्यालले मतदान गराउने मुख्य भूमिका पाएकोमा आफूलाई खुसी लागेको बताउनुभयो ।

मतदान केन्द्रलाई अपाङ्गमैत्री बनाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबैलाई निर्देशन दिएको छ । मतदान स्थलको भौगोलिक अवस्था अनुसार स्थानीयवासीको सहयोग लिएर मतदान केन्द्रलाई सकेसम्म अपाङ्ग मैत्री बनाउन मतदान अधिकृतलाई निर्देशन दिइएको सहायक निर्वाचन अधिकृत पौडेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here