दुर्घटनास्थल पुगेका बागलुङका विकासको बयान : घाइते भेटिन्छन् कि भन्ने आशले बिहानैदेखि खोज्न थाल्यौँ

उजिर कार्की
काठमाडौँ, १६ जेठ । आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमान फेला परेको छ। यार्सागुम्बा टिप्न गएको ९ जनाको टोलीले विमान फेला पारेको हो ।

अहिले घटनास्थलमा तीन जना सुरक्षाकर्मीको टोली पुगेको छ। फिस्टेल एयरमार्फत पुगेको टोलीले अहिले दुर्घटनास्थलमा अनुसन्धानको काम थालेको त्यहीँ रहेका बागलुङका विशाल घर्तीले बताए ।

विशालसहित तीन जनाको टोलीले विमान दुर्घटना भएको फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले ८ जना यार्सा टिप्न गएको टोली, १ स्थानीय र ३ जना सुरक्षाकर्मीको टोली घटनास्थलमा छन् ।

विशालसहितको टोलीले विमान दुर्घटना भएको आवाज सुनेको आइतबार नै प्रहरीलाई खबर गरेका थिए । उनीहरुको जानकारीकै आधारमा सुरक्षाकर्मीले त्यहाँ दुर्घटना भएको हुन सक्ने अनुमान गरेको थियो । तर, आइतबार दिनभर खोजे पनि विमान फेला परेन ।

दुर्घटनाबारे विशालको बयान

ताराको जहाज दुर्घटनास्थलमा पुगेका विकास घर्तीमगर

अहिले यहाँ विमान दुर्घटनास्थलमा हेलिकप्टर मार्फत एक जना प्रहरी, एक जना सेना र एक जना अर्को सर आउनु भएको छ। हामी ८ जना छौँ । अर्को एक जना स्थानीय पनि आइपुग्नु भएको छ । हामी दुई जना बागलुङका छौं र अरु यतैका स्थानीय हुनुहुन्छ। उहाँहरु पनि यार्सा टिप्न आउनु भएको हो ।

आइतबार बिहान हामी यार्सा खोजिरहेका थियौं । बाक्लो कुहिरो लागेको थियो। एक्कासि प्लेन कराउँदै आयो । एकैछिनमा पड्किएको आवाज आयो । त्यसपछि प्लेनको आवाज आएन कता गयो, केही देखिएन ।

हामीले प्लेन दुर्घटना भयो कि क्या हो भनेर कुरा पनि ग¥यौँ । तर मौसमका कारण पत्ता लगाउन सक्ने अवस्थै भएन। हामी फेरि यार्सा खोज्न थाल्यौँ ।

तर हामीलाई प्लेन दुर्घटना भएको जस्तो लागेको थियो । उडिरहेको प्लेन एकाएक हराउनु र आवाज आउनु एकै पटक भएको थियो ।

पछि हामीलाई फोन आयो । हामीले आवाज सुनेको तर नदेखिएको बतायौँ। हामीले अनुमानित स्थानका बारेमा पनि भनेका थियौं । पछि प्लेन दुर्घटनाको कुरा सुनेपछि हामीले यार्सा टिप्न छाडेर विमान खोज्न थालेका थियौं ।

तर पानी र बादलका कारण हिजो प्लेन फेला पार्न सकेनौँ । हामीलाई आश थियो कतै घाइते भेटेर उद्धार गर्न सकिन्छ कि भन्ने। तर आइतबार खोज्दाखोज्दै रात पर्यो ।

सोमबार बिहान ५ बजे नै उठेर हामी कोही जीवित रहेछन् भने उद्धार गर्न हुन्छ भनेर चिया खाएर प्लेन खोज्न लाग्यौं। झण्डै एक घण्टापछि एउटा डाँडामा डिजेलको गन्ध आयो। अब यहीँ आसपासमै छ भन्ने लाग्यो । २/३ सय मिटर तल झरेर हेर्दा दुर्घटना भएको देख्यौँ । हामी तीन जना पुगेका थियौं पहिले । अनि अरु साथीहरुलाई पनि बोलायौं ।

सानो ढिस्कोमा ठोक्किएर दुर्घटना भएको रहेछ । प्लेन टुक्रा टुक्रा भएको छ। शव चिन्न सकिने अवस्था नै छ। नजिक नजिकै छन् शवहरु । कपडा जले पनि शव धेरै डढेको अवस्था छैन ।

अहिले प्रहरी र सेनाले अनुसन्धान गर्दैछ। हेलिकप्टर उहाँहरुलाई छाडेर फर्कियो ।

soc:nepalkhabar.com

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here