काठेखोलाका निर्वतमान जनप्रतिनिधिलाई विदाई र नयाँलाई स्वागत

बागलुङ, १० जेठ । काठेखोला गाउँपालिका गाउँपालिकाले मंगलबार निर्वतमान जनप्रतिनिधिहरुलाई विदाई र नयाँ जनप्रतिनिधिलाई स्वागत गरेको छ ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु थापाले निर्वतमान जनप्रतिनिधिहरुले सुरु गरेका राम्रा कामहरुलाई आफुले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई गाउँपालिका भित्रका सवै नागरिकलाई समान रुपमा हेरेर काम गर्न आग्रह गर्नुभएको छ । ‘हामी चुनाव अगाडी पार्टीको टिकटबाट चुनाव लड्यौं र अहिले हामीलाई जनताले अनुमोदन गरिसकेका छन्,’ उहाँले भन्नुभयो–‘अब हामी कुनै राजनीतिक दलको नेता र जनप्रतिनिधि होइन, अब हामी काठेखोलामा बस्ने आम नागरिकको जनप्रतिनिधि हो । त्यसैले गाउँपालिकामा रहेका सवै राजनीतिक विचार राख्नेहरुको कदर गर्न र सवै नागरिकलाई बराबर दृष्टिकोणले हेरेर व्यवहार गर्नुहोला ।’

उहाँले विचारले फरक भएपनि काठेखोलालाई विकास, समृद्धि र सुशासनको बाटोमा लग्नको लागि निर्वतमान जनप्रतिनिधिहरुसँग सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो । अध्यक्ष थापाले सवै जनप्रतिनिधिहरुले इमानदारिताका साथ कर्तव्य निष्ठ भएर जनताका हरेक काम छिटो,छरितो र सजिलो तरिकाबाट नम्र व्यवहार गरेर गर्न आग्रह गर्नुभएको थियो ।

यस्तै गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष तेज बहादुर थापाले पालिकाबाट गरिने सेवा र विकास हरेक क्षेत्रलाई न्याय र समानताको आधारमा वितरण गरिने बताउनुभयो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाका निवर्तमान अध्यक्ष अमर थापाले वर्तमान जनप्रतिनिधिहरुले सहयोग चाहेमा आफुले सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा गाउँपालिकालाई सुशासन र सूचना प्रविधिको क्षेत्रमा नम्बर १ बनाएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सुरु भएका राम्रा विकास निर्माणका कामलाई निरन्तरता दिनको लागि आग्रह समेत गर्नुभएको थियो ।

निर्वतमान अध्यक्ष थापाले कर्मचारीको अभावको कारण काठेखोलाबासीलाई सहज सेवा प्रवाह गर्नको लागि करारमा कर्मचारी ल्याएर काम गरेको बताउँदै नयाँ जनप्रतिनिधिहरुले पुरानो प्रतिनिधिहरुले राखेको भन्दै नहटाउनको वर्तमान जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको थियो । उहाँले आफ्नो कार्यैकाल सफल बनाउन सहयोग गर्ने सवै कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले काठेखोला गाउँकमिटीका अध्यक्ष डिल बहादुर कार्की र नेपाली काँग्रेस काठेखोला गाउँ समितिका सभापति यामदत्त कंडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

गाउँपालिकाले निर्वतमान जनप्रतिनिधिहरुलाई दोसल्ला र कदरपत्रले विदाई गरेको थियोभने नयाँ जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर स्वागत गरिएको थियो ।

उक्त कार्यक्रमको संचालन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की र स्वागत मन्तव्य सूचना अधिकारी मनोज कार्कीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here