काठेखोलाका अध्यक्ष थापाको पहिलो निर्णयः प्रशासकीय भवन निर्माण

बागलुङ, १० जेठ । काठेखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष राजु थापाले आफ्नो पाँच वर्षमा पालिकाको प्रशासकीय भवन निर्माण गर्ने पहिलो निर्णय गर्नुभएको छ । थापाले मंगलबार पदभार ग्रहण गर्दै ६ वटा निर्णय गर्नुभएको हो ।

पदभार ग्रहणपछि बसेको पहिलो बैठकमा थापाले पहिलो प्राथमिकतामा गाउँपालिका भवनलाई राख्दै प्रशासकीय भवन निर्माण गर्ने निर्णय गर्नुभएको छ ।

यस्तै थापाले पाँच वर्षमा गाउँपालिकाका १ हजार जनालाई निःशुल्क स्वास्थ्य बीमा गरिने निर्णय गर्नुभएको छ । उहाँले गाउँपालिकाको जनसंख्यालाई हेरेर विपन्न व्यक्तीको तथ्यांकन संकलन गरि पाँच वर्षमा १ हजार जनालाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने बताउनुभयो । गाउँपालिकाले यस अगाडी हरेक वर्ष प्रत्येक वडाका १ सय २५ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्दै आएको छ ।

थापाले उच्च शिक्षा अध्ययन अनुसन्धानको लागि कोष निर्माण गर्ने निर्णय गर्नुभएको छ । उहाँले कोषबाट गाउँपालिकाको विभिन्न शिर्षकमा रहेर खोज अध्ययन अनुसन्धान गर्न चाहनेहरुलाई अनुदान सहयोग गर्ने बताउनुभयो । यस्तै बैठकले शिक्षा तर्फ नै बालशिक्षाका सहजकर्ता र विद्यालयका सहयोगीलाई प्रोत्साहन भत्ता १५ हजार रुपैयाँ उपलब्ध गराईने निर्णय गरेको छ । अध्यक्ष थापाले १५ हजार भन्दा कम तलब खाने बाल शिक्षाका सहजकर्ता र विद्यालयका सहयोगीहरुलाई प्रोत्साहनबापत तलबमा थप गरि १५ हजार रुपैयाँ पु¥याउने बताउनुभयो ।

यस्तै बैठकले कृषि र पशुपालनमा उत्पादनको आधारमा अनुदानको व्यवस्था गरिने निर्णय गरेको छ । अनुदान वितरणको लागि निर्देशिका निर्माण गरिने अध्यक्ष थापाले बताउनुभयो । बैठकले ‘जहाँ विपद, त्यहाँ काठेखोला’ विपद कोषको स्थापना गर्ने निर्णय गरेको छ । विपदहरुमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here