पर्वतमा बस र जीप ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

बागलुङ, ४ जेठ । पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छभने १३ जना घाइते भएका छन् ।

बागलुङबाट पोखरा जाँदै गरेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो जीप र पोखराबाट कुश्मा आउँदै गरेको ग १ ख ५२१८ नम्बरको बस जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।

दुर्घटनामा बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका ३१ बर्षिय लाल बहादुर थापाको मृत्यु भएको प्रनि अधिकारीले बताए । दुर्घटनामा घाईते भएका थापाको उपचारका लागि पर्वत अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट हुत्तिएर नालीमा पुगेको थियो । केही घाइतेहरूलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य यात्रुहरुले उद्धार गरेका थिए । घाइते सबैलाई उपचारको लागि पर्वत अस्पतालमा लगिएको छ । केहीको अवस्था गम्भीर रहेकोले पोखरा पठाउने तयारी गरिएको र अन्य घाइतेहरूको पनि परीक्षण र उपचार चलिरहेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

ट्राफिक प्रहरी नारायण श्रेष्ठका अनुसार बस गलत लेनमा रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

सच्चाइएको: दुर्घटनामा मृत्यु भएका थापाको ठेगाना काठेखोला गाउँपालिका-७ रेश हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ । यशबाट पाठकवर्गमा पर्न गएको असुबिधा प्रती क्षमाप्राथी छौ । – सम्पादक

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here