काठेखोलामा पाँच बर्षमा आधारभुत आवश्यकताका पूर्वाधार निर्माण

बागलुङ, २७ बैशाख । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा स्वास्थ्य चौकी भवन निर्माण स्थलको विषय निकै विवादित थियो । एउटा भेग धम्जा देउरालीमै नयाँ भवन बनाउने र अर्को भेग सायकटेरामा बनाउनु पर्ने पक्षमा थिए ।

स्वास्थ्य चौकी भवन निर्माण स्थलको विषयमा कुरा नमिल्दा वडाका नागरिक दुई भागमा विभाजित भए । सहमति नहुँदा लामो समय भवन बन्न सकेन । दुई भेग लगवग द्वन्द्वको अवस्था थिए । स्वास्थ्य चौकी भवनको विषय जटिल बन्दै गए पछि कोठेखोला गाउँपालिकाको अगुवाईमा साविक स्वास्थ्य चौकी भएको स्थानमा स्वास्थ्य चौकीकै भवन निर्माण गर्ने र सायकटेरामा स्वास्थ्य इकाई स्थापना गर्ने सहमति पछि विवाद समाधान भयो ।

अहिले धम्जा देउरालीमा सुविधा सम्पन्न स्वास्थ्य चौकी र सायकटेरामा सुविधा सम्पन्न स्वास्थ्य एकाई स्थापना भएको छ । स्वास्थ्य एकाईमा आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गाउँपालिकाले गरेको गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताउनुभयो । दुवै स्वास्थ्य संस्थाबीच गुणस्तर सेवा प्रवाहमा प्रतिस्पर्धा छ । स्वास्थ्य इकाईले एम्बुलेन्स सेवासमेत थप गरेको छ ।

विवादित वडामा सबैले जित्ने गरी विवाद समाधान गर्दै विकास निर्माणको काममा जुटेको गाउँपालिकाले पाँच वर्षको अवधिमा आधारभुत आवश्यकताको पूर्वाधार गरेको छ ।

 

स्वास्थ्य इकाईः
गाउँपालिकाले ठुलो भुगोल र स्वास्थ्य सेवा लिन धेरै समय पैदल यात्रा गर्नुपर्ने बाध्यतालाई ध्यानमा राखेर वडा–३ धम्जा, वडा–४ तंग्राम र बिहुँमा स्वास्थ्य इकाई थप गरेर स्थानीयलाई आधारभुत स्वास्थ्य सुविधाको पहुँच विस्तार गरेको छ । गाउँपालिकाले ६० बर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा, सबै स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापनाको काम अघि बढाएको छ ।

ग्रामिण सडकमा सुधारः
स्थानीय तहको सबै भन्दा ठुलो चुनौती ग्रामिण सडकको हो । हिउँद भरी बनाउने, बर्खामा पानीले बगाउँने समस्या कायमै छ । सिमित स्रोत र साधनको कारण सबै वडाका सबै ग्रामिण सडक पक्की बनाउन नसके पनि गाउँपालिकाले बर्खाको समयमा पनि सवारी चल्न सक्ने गरी सडक संरचना निर्माण गरेको गाउँपालिका अध्यक्ष थापाको भनाई छ । पाँच बर्षको अवधिमा पुराना बाटो चाक्लो बनाउनुका अतिरिक्त सडक संरचना, नालीको काम भएको छ । गाउँपालिका केन्द्रदेखि वडा कार्यालय जोड्ने सडक कालोपत्रेको डिपिआर तयार छ । वडा–७ रेशको एक्लेखेतमा मोटरेबल पुल तथा गाउँपालिका केन्द्रदेखि रेशको वडा कार्यालय जोड्ने चार सय किलो मिटर कालोपत्रे भयो । । त्यस अघि कालोपत्रेको काम जारी छ । मध्यपहाडी लोकमार्ग अक्षेतेदेखि लेखानी जाने सडकको सुलडाडाँसम्म कालोपत्रे गरिएको प्रमुख प्रशासकीय अधिकृत चुर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।

सबै वडामा वडा कार्यालय स्थापनाः
गाउँपालिका घोषण हुनुपूर्व साविकको गाविसमा वडा कार्यालय स्थापना गरिएको थियो । संघीय संरचना अनुसार गाउँपालिका पुनःनिर्माण गर्दा साविकको पाला गाविस र बिहुँ गाविस टुक्रिन पुग्यो । पालिको आधा भाग बागलुङ नगरपालिका र केही भाग काठेखोला गाउँपालिकामा समावेश गरियो । बिुहँलाई दुई वडा वडामा विभाजन गरियो । विभाजित वडामा वडा कार्यालय फेरि निर्माण गर्नुपर्ने अवस्था सृजना भयो । गाउँपालिकाले वडा–१, वडा–३, वडा–५ र वडा ६ मा नयाँ वडा कार्यालय स्थापना गर्यो । अन्य वडाको पुरानो संरचनालाई थप व्यवस्थित गरेको छ ।

लेखानी–कादेश झोलुङ्गे पुल
काठेखोला गाउँपालिकाको पाँच बर्षे कार्यकालमा महत्वपूर्ण पूर्वाधार हो लेखानी–कादेश झोलुङ्गे पुल । गाउँपालिका–८ लेखानीको पिडाल्नदेखि कादेश जोड्न झोलुङ्गे पुल निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको भ्याससहित दुई करोड ९१ लाख रुपियाँ लागतमा दोविल्ला खोलामाथि ३५९ मिटर लामो पुल निर्माण गरिएको हो ।

पुल निर्माण नहुँदा स्थानीयवासी लेखानी कादेश आवत–जावत गर्न लेखानी, भुमेचौर दोविल्ला खोला हुँदै घुमारो सडक पार गर्न करिव एक घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । दोविल्ला खोलामाथि पुल निर्माण भए पछि एक घण्टाको दुरी पाँच मिनेटमा सिमित भएको वडाध्यक्ष चित्रकला श्रीसले बताउनुभयो । पुल निर्माण भए पछि यात्रा छोटिनुका साथै खोलाको बाटो जोखिम लिएर हिड्न्पर्ने बाध्यताकोको पनि अन्त्य भएको छ । यो अवधिमा झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गत काठेखोला गाउँपालिका–२ मा तीन र वडा–५ दुई वटा छोटो प्रकृतिका झोलुङ्गे पुल निर्माण गरिएको छ ।

घरघरमा खानेपानी धाराः
काठेखोला गाउँपालिका–२ भीमापोखरा डहरेमा चरम खानेपानी समस्या थियो । दलित समुदाय र अन्य समुदायको बसोबास रहेको डहरेमा खानेपानीको लागि सिमित सार्वजनिक धारा थिए । सबै समुदायले एउटै धाराको पानी प्रयोग गर्नुपर्दा त्यहाँ धेरै पटक जातिय छुवाछुतको समस्या बल्झियोे । पानी छोएको निहुँमा स्थानीय झैगडा तथा गालीगजौलमा समेत उत्रिए । अन्य जातिका व्यक्तिले पानी नथापेसम्म दलित समुदायका व्यक्तिले पानी थाप्न नपाउने, अन्य जातिले धारामा थापेको भाँडा भरिए पनि दलित समुदायले झिकेर थाप्न नपाउने जस्ता समस्या स्थानीयले भोग्दै आएका थिए । स्थानीय तहमा जनप्रतिनिधि आएपछि डहरेमा खानेपानी समस्या मात्रा समाधान भएको छैन । पानी थाप्ने निहुँमा भएको जातिय विभेदका घटनामा न्युनिकरण भएको छ । गाउँपालिकाले विभिन्न संघ संस्थासँगको सहकार्यमा ‘एक घर एक धारा’ अभियान अन्तर्गत गाउँपालिका भरी चरम खानेपानी समस्या भएको स्थानमा ४८२ धारा, २५ खानेपानी ट्याङ्की निर्माण गरेर खानेपानी समस्या समाधान गरेको छ ।

कृषी र खरको छानो ः
एक वडा एक पहिना कार्यक्रमसहित अघि बढेको गाउँपालिकाले कृषी उत्पादन र आर्थिक गतिविधिलाई ध्यानमा राखेर कृषी लक्षित केही ठुला परियोजना निर्माण गरेको छ । काठेखोला–६ लाई सुन्तला जोनको रुपमा विकास गरेको छ । सुन्तला पटेक क्षेत्रमा कोल्ड स्टोर निर्माण, धम्जामा आलु भण्डारण गृह, तंग्राममा पाहुँना घर, रेशमा खेल मैदान, लेखानीमा बौद्ध स्तुपा निर्माण गरिएको छ । यो अवधिमा पालिका भित्रका छ सय खरको छानो विस्थापित गरी विपन्न परिवारलाई जस्तापाताको छानो मुनी ओत लाग्ने अवस्था सृजना भएको छ ।

डिजिटल गाउँपालिकाः
काठेखोला गाउँपालिकाको अर्को पहिचान हो डिजिटल गाउँपालिका । स्थानीय तह कार्यान्वयनमा आए पछि गाउँपालिकाले सबै वडामा इन्टरनेट सुविधा विस्तार गरेको छ । वडाबाट प्रदान हुने सेवाहरुलाई सकेसम्म पेपरलेस गराउने अभ्यास गरेको छ । समग्रा गाउँपालिकाको तथ्याङ्क अट्ने गरी डिजिटल प्रोफाईल निर्माण गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here