काठमाडौं, २२ बैशाख ।
सशस्त्र प्रहरीले सीमा नाकामा भारतकै जति सुरक्षा पोस्ट राख्न प्रस्ताव गरेको छ ।
नेपाल–भारत सीमामा भारतका ५ सय ३० वटा सुरक्षा पोस्ट छन् । नेपालले भने भारततर्फको सीमामा १ सय २१ वटा पोस्ट राखेको छ ।
नेपालका तर्फबाट सुरक्षा पोस्ट (बीओपी) को संख्या ५ सय पु¥याउन सशस्त्रले प्रस्ताव गरेको हो । झण्डै ४ सय पोस्ट थप्ने प्रस्तावसहितको योजना सशस्त्रले सोमबार गृह मन्त्रालयमा बुझाएको छ ।
गृहमन्त्री रामबहादुर थापा बादलले सिमानामा आवतजावत पूर्ण बन्द गर्ने गरी योजना ल्याउन सशस्त्रलाई निर्देशन दिएका थिए ।
लकडाउनको समयमा सीमामा थप कडाइ गर्न सुरक्षा पोस्ट आवश्यक रहेको भन्दै सो योजना तयार गरेको हो ।
यीमध्ये एक सय बीओपी थप्ने प्रक्रिया सुरु भइसकेको छ । यी बीओपी अन्तरगत रहने गरी चेकपोस्ट थप हुनेछन् । हाल १३ सय अस्थायी चेकपोस्ट छन् ।
तर भारतबाट प्रहरीलाई छल्दै नेपाल भित्रिने क्रम नरोकिएपछि सशस्त्रले थप कडाइ गर्न योजना बनाएको हो ।
त्यसका लागि ९ हजार जनशक्ति पनि थप गर्नुपर्ने प्रस्ताव पनि सशस्त्रले राखेको छ । हाल सरदर १५ किलोमिटरको दूरीमा रहेको बीओेपी त्यसपछि ३.५ किलोमिटरको फरकमा रहनेछन् ।
बीओपी थप गर्ने विषयमा आयोजित छलफलमा गृहमन्त्री थापाले सीमा व्यवस्थापनको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रस्ताव आफूले मन्त्रिपरिषदमा लैजाने बताए ।
मन्त्री थापाले सशस्त्र प्रहरीले तयार पारेको प्रस्ताव राम्रो रहेको र अझ बीओेपी रहने स्थान, आवश्यक पूर्वाधार लगायतका विषयमा विस्तृत प्रस्ताव तयार पार्न सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई निर्देशन दिएका छन् ।
सीमा व्यवस्थापनको बजेटमा सरकारले कञ्जुस्याइँ नगर्ने पनि उनले स्पष्ट पारे ।
‘अहिले जटिल परिस्थितिमा सिमित, स्रोत र साधनका बाबजूद सीमामा कोरोना नियन्त्रणका लागि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय छ,’ गृहमन्त्री थापाले भने ।
गृहसचिव महेश्वर न्यौपानेले अपराध, चोरी, तस्करी नियन्त्रणका लागि समेत बीओेपी बढाउनुको विकल्प नरहेको बताए ।
उनले भन्सारको १ सय ११ ठाउँमा रहेको जग्गा बीओपीलाई दिन अर्थ मन्त्रालय सकारात्मक देखिएको जानकारी दिँदै अन्य स्थानमा प्रदेश सरकार, स्थानीय निकाय र जिल्ला प्रशासनसँगको समन्वयमा आवश्यक जग्गा खोज्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।
यसअघि सीमाक्षेत्रमा ८७ बीओपीमात्रै थियो । त्यसलाई बढाएर गृहमन्त्री थापाले १ सय २० पु¥याइएका थिए । बीओपी संख्या २ सय २१ पु¥याउने गृहमन्त्रीको प्रस्ताव मन्त्रिपरिषदले यसअघि नै पारित गरिसकेको छ ।
यसअघि बीओपीमा करिब ५ हजार जनशक्ति थियो । कोरोना महामारीका कारण सिलबन्दी गरिएपछि ८ हजार ३ सय ८३ जनशक्ति थपिएको छ ।
गृहमन्त्री थापाले पहाडी र हिमाली जिल्ला, हेडक्वार्टर लगायतका स्थानमा रहेका जनशक्ति घटाएर सीमामा पठाउन निर्देशन दिएसँगै अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिएका छन् ।
कारागार लगायत सरकारी संरचनाको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई पनि सीमा क्षेत्रमा पठाउने तयारी भइरहेको छ ।

nepalkhabar

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here