राष्ट्रपतिद्वारा बैशाख २६ गते संसद अधिवेशन आव्हान

काठमाडौं, २१ वैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको वजेट अधिवेशन वैशाख २६ गतेका लागि आव्हान गरेकी छन् । सरकारको सिफारिसमा उनले वैशाख २६ गते दिउँसो ४ बजे बस्ने गरी संघीय संसदको अधिवेशन आव्हान गरेकी हुन् । आइतबार बसेको मन्त्रपरिषद बैठकले संसद अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । वजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम पारित गर्ने, वजेट प्रस्तुत गर्ने र पारित गर्ने गरिन्छ ।
जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । बजेट पेश गर्नुअघि राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रचलन छ । यसैबीच, जेठ १५ बजेट ल्याउनुपर्ने कानुनी प्रावधान भएकाले अर्थ मन्त्रालय भने बजेट निर्माणमा जुटिरहेको छ ।
कोरोनाका कारण यसबाट बजेटको प्राथमिकता परिवर्तन हुने राष्ट्रिय योजना आयोगले बताइसकेको छ । विशेष गरी राहत पुग्ने कार्यक्रम ल्याउनुपर्नेछ । स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत क्षेत्रमा व्यापक मात्रामा बजेट विनियोजन गर्नुपर्ने अवस्था छ । एकातिर राष्ट्रिय महत्वका परियोजनालाई निरन्तरता दिनुपर्ने बाध्यता छ भने अर्कोतिर कोरोनाका कारण शिथिल भएका उद्योगप्रतिष्ठान बचाउनुपर्ने अवस्था पनि छ ।
राज्यले करको भार बढाउन सक्ने अवस्था पनि छैन । राजस्व घट्ने निश्चित भएको छ । यसर्थ, स्रोतको कमी हुने संकेतका बीचमा राहत पुग्ने गरी विस्तारकारी बजेट ल्याउनुपर्ने अवस्था छ । किन भने विस्तारमुखी बजेट नआएमा कोरोनाबाट शिथिल बनेको अर्थतन्त्रलाई गति दिन गाह्रो हुनेछ । बजारमा आर्थिक गतिविधि र मुद्रा प्रदाय बढाउन नसके शिथिल अर्थतन्त्रमा गतिशीलता ल्याउन समस्या पर्ने अवस्था छ । निजी क्षेत्रले पनि विस्तारकारी बजेट ल्याउन माग गरिरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here