
बुर्तिवाङ, २३ पुस । आज (सोमबार) मुलुकभरको मौसम बदली हुँदा कतिपय स्थानमा हलुका वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।
गए राति देखी बागलुङको ढोरपाटन, निसी, भूजी र तमानको माथिल्लो भागमा हिमपात भएको छ । देशभर मौसममा बदली हुँदा हिमपात भएको हो । ढोरपाटनमा हिमपातसँगै चिसो बढ्दा स्थानियहरुको दैनिकीमा असर पुगेको छ ।
ढोरपाटनमा केहि दिन पहिले हल्का हिमपात भएपनि आजको हिमपातले जनजीवन कठ्याँग्रिएको छ । चिसोका कारण मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । गाईबस्तु चौपायाहरुलाई घाँस पात, दानापानीको जोहो गर्न पनि धौ भएको स्थानिय सत विश्वकर्माले बताउनुभयो । गतवर्ष पनि हिमपात हुन्थ्यो तर धेरै चिसो हुने थिएन स्थानिय विश्वकर्माले भन्नुभयो यस वर्षको हिमपातसँगै बढ्दो चिसोले दैनिक जनजिवन प्रभावित भएको छ ।’
ढोरपाटनसँगै त्यहाँको आसपासमा पनि हिमपात भइरहेको छ । निसी, बोबाङ लगायतकोे माथि भागमा हिमपात भइरहेको छ ।
बागलुङ र रुकुमको सिमाना पाथीहाल्नेमा भारी हिमपातको कारण बुर्तिवाङ–रुकुम चल्ने सवारी साधनहर ठप्प भएका छन् ।










