
बागलुङ, १८ पुस ।
बागलुङ नगरपालिका ४ उपल्लाचौरमा एक महिला लागु औषध सहित पक्राउ परेकी छिन् । बागलुङ नगरपालिका १३ पैयुपाटा घर भएकी उपल्लाचौरमा विजय खाजाघर संचालन गर्ने ४२ वर्षिय शान्तिदेवी कुँवरलाई लागु औषध सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिनुभयो । कुँवरलाई १४ गते लागु औषध बेचविखन गर्ने गरेको आरोपमा पक्राउ गरी अनुसन्धान गर्दा घरमा लुकाएर राखेको बयानको आधारमा प्रहरीले बुधबार पसलमा छापा मारेर लागुऔषध बरामद गरेको जनाएको छ ।
कुँवरले लागुऔषध सेवन गर्ने लागु औषध प्रयोगकर्ताहरुलाई पसलबाटै डाईजेपाम, फेनार्गन र नुर्फिन लुकाएर बेच्ने गरेको र पैसा तिर्न नसक्नेहरुबाट मोबाईल, ल्यापटप लगायतका जिन्सी सामाग्रीहरु लिने गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले कुँवरको पसलमा छापा मारेर विस्तारामा लुकाएको अवस्थामा २ मि.लि. डाईजेपाम २ एम्पुल, २ मि.लि. फेनार्गन २ एम्पुल, २ मि.लि नुर्फिन २ एम्पुल र प्रयोग भईसकेको २ थान निडिल सहितको सिरिन्ज फेला पारेको प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभयो । यस्तै कुँवरले जमिनमा प्लाटिकको बोरामा लुकाएर राखेको अवस्थामा २२ मि.लि. लेखिएको डाईजेपाम १०५ एम्पुल, २ मि.लि. लेखिएको फेनार्गन १०५ एम्पुल र २ मि.लि. लेखिएको नुर्फिन १०५ एम्पुल (१०५ सेट) बरामद गरिएको छ ।
यस्तै कुँवरको कोठाबाट प्रयोगकर्ताहरुले लोनमा राखेको सामसुङ मोबाईल ५ थान, कलर्स मोबाईल १ थान, नोकिया मोबाईल १ थान, डाईमण्ड मोबाईल १ थान, सोलार पावर बैंक १ थान, आईफोन १ थान, INTEL ट्याब १ थान र ACER ल्यापटप १ थान भेटिएको प्रहरी निरीक्षक मल्लले बताउनुभयो ।
लागुऔषध सहित पक्राउ परेकी कुँवरलाई थप अनुसन्धान गरी लागु औषध बेचविखनको मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ ।










