
बागलुङ, १४ पुस ।
काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाको धम्जा सामुदायिक स्वास्थ्य इकाईमा शनिबार निःशुल्क आँखा शिविर गरिएको छ ।
धम्जा सामुदायिक स्वास्थ्य इकाईको आयोजना, काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाको सहयोग र नेपाल नेत्रज्योति संघ बागलुङको प्राबिधिक सहयोगमा भएको निःशुल्क आँखा शिविरमा २ सय १० जनाले सेवा लिएका छन् । शिविरमा १ सय ३२ जना महिला र ७८ जना पुरुषको आँखा चेक गरिएको स्वास्थ्य इकाईका प्रमुख लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । शिविरमा ४५ जनालाई चश्मा वितरण गरिएको छभने ८ जनालाई मोतीबिन्दुको अपरेशन गर्नुपर्ने सुझाव दिइएको छ ।
शिविरको उद्घाटन समारोहमा काठेखोला गाउँकार्यपालिका सदस्य नैनकली खड्काले शिविरले वडाभित्रका नागरिकहरुलाई सेवा प्रदान गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघ बागलुङका सचिव बालकृष्ण शर्मा, टोल सुधार समिति धम्जाका अधयक्ष सुर्य बहादुर भण्डारी, आँखा अस्पताल उपल्लाचौर बागलुङका नेत्र सहायक दिवाकर पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
काठेखोला–३ धम्जाका वडासदस्य खुम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन स्वास्थ्य इकाई प्रमुख लोक बहादुर भण्डारीले गर्नुभएको थियो । शिविरमा छिमेकी वडाहरु भीमापोखरा र तंग्रामका विरामीहरुले सेवा लिएका थिए ।










