
बागलुङ, २३ मंसिर ।
दुवै मिगौला बिग्रिई आर्थिक समस्याका कारण प्रत्यारोपण गर्न नसकेका काठेखोला गाउँपालिका–६ विहुँ बागलुङका तारानाथ कंडेललाई विहुँकोट हेल्थ नेटवर्क (युके)ले सहयोग गरेको छ ।
दयाराम कंडेलको पहलमा संकलन भएको १ लाख ३५ हजार १ सय ४७ रुपैयाँ आईतबार काठेखोला गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष युक्तप्रसाद कंडेलले उहाँको परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।
रकम हस्तान्तरण पछि बोल्दै वडाअध्यक्ष कंडेलले कंडेलको घरको आर्थिक अवस्था कमजोर भएकाले सवैलाई सहयोगको लागि आव्हान समेत गर्नुभएको थियो । उहाँले विहुँकोट हेल्थ नेटवर्क युकेलाई सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो ।
हस्तान्तरण कार्यक्रममा वडा सदस्य लिलाधर ढुंगाना, समाजसेवी नविन कंडेल, नारायणप्रसाद कंडेल राजु, चन्द्रदत्त कंडेलले बोल्नुभएको थियो ।
प्रजापती कंडेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत जगन्नाथ कंडेल र संचालन मणिभद्र कंडेलले गर्नुभएको थियो ।
मिगौला पीडित कंडेलको हाल पोखराको गण्डकी अस्पतालमा उपचार भईरहेपनि मिगौला प्रत्यारोपण गर्नुपर्ने भएकाले सवैलाई आर्थिक सहयोगको लागि सहयोगको अपिल गर्नुभएको छ । कंडेलका १८ र १४ वर्षका २ छोरा र श्रीमती हुनुहुन्छ ।










