
सुबास आचार्य
बागलुङ, १६ मंसिर
बागलुङ बजारमा बिक्री हुने रागा तथा भैसीको मासु खुल्ला ठाउँमा वध गरेर विक्रि वितरण हुने गरेको पाईएको छ । बागलुङ नगर अनुगमन समितिले गरेको छड्के अनुगमनका क्रममा मापदण्ड विपरित खुल्ला ठाउँमा मासु वध गरी बिक्री गर्ने गरेको पाइएको हो ।
बागलुङ बजारमा खपत हुने रागा तथा भैसीको मासु बागलुङ नगरपालिका–१ खनियाबासस्थित पाखोमा वध गरी विक्रि हुने गरेको छ । व्यवस्थित बधशाला नहुँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ ।
अनुगमनको क्रममा बागलुङ बजारमा संचालित सुवेशलार मासु पसलले मापदण्ड विपरित मासु विक्रि गर्ने गरेको पाईएको छ । खुल्ला तथा भुईमा राखेर तथा खिया लागेको काटामा तौल गरी मासु विक्रि गरिरहेको पाईएकोले एक हप्ता भित्र सुधार नगरे पसलमा शिल गरिने चेतावनी दिईएको नगर अनुगमन समितिका संयोजक समेत रहनुभएका बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । अनुगमनको क्रममा सफा ठाउँमा पशुपंक्षी बध गर्न, मासु बिक्री गर्ने स्थललाई पूर्ण रुपमा सिसा र जालीले छोप्न निर्देशन दिईएको नगर अनुगमन समितिका सदस्य तथा पशु स्वास्थ्य प्रविधिक वालकृष्ण सापकोटाले बताउनुभयो ।
बागलुङ नगरपालिका–१ खनियाबासमा सञ्चालन हुदैँ आएको बधशाला व्यवस्थित नहुँदा मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेको छ । कालिगण्डकी नदी माथि रहेको अव्यवस्थित बधशालामा काटिने भैँसी, राँगाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत मालढुंगा देखि बागलुङ सदरमुकाम आउने सडकमै दुर्गन्ध फैलिन गरेको छ ।
बधशालाको उचित व्यवस्थापन र सरसफाईमा ध्यान नदिँदा दुर्गान्धित स्थानमा वध गरिएका रागा तथा भैसीको मासु विक्रि हुने गरेको छ । आर्थिक बर्ष २०७२÷७३ मा पशुपंक्षी विकास मन्त्रालयको आर्थिक सहयोग तथा मासु व्यवसायी बाबुलाल शाक्य र राहुल बोहोराले १० रोपनी जग्गा लिजमा लिएर संयुक्त रुपमा निर्माण गरेको वधशाला अहिले बन्द छ । बिजुली, पानीको अभाव भएपछि बधशाला बन्द गर्नुपरेको बधस्थल संचालक राहुल बोहोराले बताउनुभयो । मासु व्यवसायीहरुले पनि बधस्थलमा मासु काट्दा तिर्नुपर्ने भाडा महंगो भएको भन्दै खुला रुपमा काट्ने गरेका छन् ।










