देशमा भएको बेथिति र राष्ट्रको हितको पक्षमा बोल्ने काम पत्रकारकोः आचार्य

बागलुङ, ८ मंसिर
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकारहरुमा देशमा भएको बेथिति, नागरिक हित र राष्ट्रको हितको पक्षमा बोल्न जिम्मेवारी रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासंघ बागलुङ शाखाको ११ औं साधारणसभाको उद्घाटन पछि बोल्दै अध्यक्ष आचार्यले पत्रकार कहिले पनि सरकार पक्ष नहुने भन्दै असल प्रतिपक्षको भुमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलका प्रतिपक्षहरुले कुनै राम्रो कामलाई पनि राजनीतिक एजेण्डाले गर्दा नराम्रो भन्ने गरेपनि पत्रकारहरुले राम्रो कामलाई राम्रो भन्ने र नराम्रो कामलाई नराम्रो भन्दै सरकारलाई खबरदारी गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष आचार्यले राजनीति दलको भुमिका अहिले पनि पत्रकारलाई फौजदारी मुद्दा लगाउने कुरामा सहमत भएको हुदा अहिले पनि पत्रकार त्यसको बिरोधमा रहेको प्रस्ट पार्नुभयो । ‘पत्रकार जहिले पनि लोकतन्त्रको पक्षमा छन्’ आचार्यले भन्नुभयो–‘राज्यले प्रेस पास बाड्ने काम गर्ने काम हैन अहिले पनि अधिकार सिंहदरबारको मै रहेकाले गाउँ–गाउँमा सिंहदरबार आएको छैन ।’
साधारणसभामा गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटा, नेपाली काँग्रेस बागलुङका जिल्ला अध्यक्ष दिपेन्द्र बहादुर थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञावली, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, नेपाल कम्युनिष्ट पार्टी बागलुङ कार्यदलका सदस्य ज्ञामनाथ गैरे अनिल, पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष हरिनारायण गौतम, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य पुन्य पौडेल, पत्रकार महासंघ कास्की शाखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पत्रकार महासंघ बागलुङका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, उद्योग बाणिज्य संघ बागलुङका अध्यक्ष जयराम भारी, नागरिक समाजका अध्यक्ष काजीगाउँले श्रेष्ठ, धौलागिरी टेलिभिजनका प्रबन्ध निर्देशक प्रकाश पौडेल, सल्लाहकार कोपिला कंडेल, प्रगतिशिल पत्रकार संघका केन्द्रिय सदस्य तारा प्रसाद शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
साधारणसभाको अवसरमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाको भवन निर्माणको लागि जग्गा उपलब्ध गराउन महत्वपूर्ण भुमिका खेल्नुहुने तत्कालिन प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, बागलुङ नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारी र पत्रकार महासंघ बागलुङ शाखाका निर्वतमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारीलाई सम्मान गरिएको थियो ।
साधारणसभामा सचिव राम बहादुर थापा अविरलले प्रस्तुत गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष विजय रानाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन बन्दसत्रले सर्वसम्मत पारित गरेको थियो ।
पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष नरेश कंडेल र संचालन सविच राम बहादुर थापा अविरलले गर्नुभएको थियो ।