
बागलुङ, १८ कार्तिक
बागलुङका स्थानीय तह आधुनिक सूचना संचार प्रविधि तथा संचार माध्यमसँग जोडिएका छन् ।
जिल्लाका तीन स्थानीय तहले वेवसाईड सहित मोवाईल एप्स संचालनमा ल्याएका छन भने अन्य सात नगर तथा गाउँपालिकाले आफ्नो वेवसाईड, सामाजिक संजाल फेसबुक, ट्वीटर लगायतका संचार माध्यम प्रयोगमा ल्याएका हुन ।
स्थानीय जनतालाई छिटो छरितो र भरपर्दो सेवा प्रवाह गर्ने उद्देश्यसहित काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बरेङ्ग गाउँपालिकाले मोवाईल एप्स संचालनमा ल्याएका छन् ।
स्थानीय तहको समृद्धि र बिकास तथा जनतामा शुसाशन कायम गर्नुका साथै जनतालाई सहज रुपमा घरमै बसेर सेवा प्राप्त लिन सक्ने उद्देश्यले एप्स प्रविधि संचालनमा ल्याएको काठेखोला गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिनुभयो । सामान्य जानकारी, फर्म तथा आवश्यक कागजातको लागि पनि फोन गर्नुका साथै कार्यालय जानुपर्ने समस्या हट्ने अध्यक्ष थापाको अपेक्षा छ ।
एप्सका सहयोगमा आवश्यक कागजपत्र र प्रक्रियाका बारेमा जानकारी, योजना तथा कार्यक्रम थाहा पाउने, सूचना, समाचार, आपत्कालिन नम्बर, जनप्रतिनिधि तथा कर्मचारीको फोटोसहितको सम्पर्क बिवरण, वडाहरुको प्रोफाईल, महत्वपूर्ण स्थानको परिचय ,गुनासो तथा समस्या दर्ता गर्न सकिने काठेखोला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले जानकारी दिनुभयो ।
जैमिन नगरपालिकाका सूचना प्रविधि अधिकृत हेमबहादुर थापाका अनुसार एप्सको प्रयोगबाट जनतालाई सुशासन ,सरल र सहज तरिकाले सेवा प्रवाह गर्न सकिने जनाउनुभयो । मोवाईल एप्समा वेवसार्डडमा भएका सबै सूचना प्राप्त गर्न सकिन्छ सूचना प्रविधि अधिकृत थापाले भन्नुभयो–‘मोवाईल एप्स प्रयोगका लागि सजिलो र छिटो हुन्छ ।’
जिल्लाका दशवटै स्थानीय तहमा सूचना प्रविधि अधिकृत नियूक्ति भएपछि आ–आफ्नो वेभसाईट संञ्चालन, सामूहिक एस.एम.एस., कम्पूटर संम्वन्धि प्रविधिक समस्याको निराकरण, ईन्टरनेट जडान लगायत अन्य सूचना प्रविधिका पूर्वाधार विस्तार गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्थानीय शासन तथा सामूदायिक बिकास कार्यक्रम अन्तर्गत सूचना प्रविधि अधिकृत नियूक्त भएपछि मुलुकभरका स्थानीयतह प्रविधि मैत्री बन्दै गईरहेका छन् ।
मोवाईल एप्स तथा वेवसाईड मार्फत विद्यालय पुर्ननिर्माण प्रस्ताव फारम, स्थानीय राजपत्र, गरिव घर परिवार सूची, न्यायिक समिती समक्ष उजुरी दर्ता तथा प्रतिवाद दर्ता, तथा विभिन्न योजनाको लागि आवश्यक कागजात र फारम राखिएको छ ।
फेसबुक, ट्वीटर जस्ता सामाजिक संचाल मार्फत नगर तथा गाउँपालिकाले आफ्ना गतिविधि, सूचना, निमन्त्रण जस्ता विषय सार्वजनिक गर्दै आएका छन् ।










