
गुमानसिंह भण्डारी
बागलुङ, १७ कार्तिक ।
महानायक राजेश हमालको बोली सुनेसँगै गलकोटका दर्शक खुसीले चिच्याएका छन । फिल्मको पर्दामा देखेका गलकोटे दर्शकहरुले आज बागलुङको गलकोटमा प्रत्यक्ष रुपमा राजेश हमाललाई देखेपछि कार्यक्रममा सहभागी सम्पुर्ण दर्शकहरु खुसीले चिच्चाएका थिए । बागलुङ उद्योग बाणिज्य संद्य गलकोटले आयोजना गरेको प्रथम गलकोट महोत्सवको ९ औ दिनको कार्यक्रममा हमाल सहभागी हुनुभएको हो ।
गलकोटमा राजेश हमाल आउने सन्देश पाएपछि घरको काम समेत छोडेर दर्शकहरु कार्यक्रममा सहभागी भएका थिए । महोत्सव सुरु भएपछिकै सबैभन्दा धेरै दर्शक आज देखिएको आयोजक संस्थाका बरिष्ठ उपाध्यक्ष ढालिन्द्रप्रसाद गौतमले बताउनुभयो । बिहान देखिनै राजेश हमालको प्रतिक्षामा बसेका दर्शकको प्रतिक्षाको घडि करिब साढे ४ बजे मेटिएको थियो । कार्यक्रममा सहभागी दर्शकहरुमध्ये अधिकांशको भनाई नै राजेश हमाललाई हेर्नका लागी आएको भन्ने थियो ।
आज महोत्सवमा करिब ९ हजार भन्दा बढि दर्शकहरु सहभागी भएको अनुमान आयोजकले गरेको छ । कार्यक्रममा हमालले ‘साथीहरुका लागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो, शंकर हो मेरो नाम शंकर’ । लगायतका संवाद बोल्नुभएको थियो । हमालले आफु देश बिदेशमा बिभिन्न ठाउमा पुगेपनि गलकोटमा भने पहिलो पटक आउने अवसर मिलेको भन्दै खुसी ब्यक्त गनुभएको थियो । उहाँले गलकोट प्राकृतिक र सास्कृतिक रुपले अगाडि रहेको बताउनुभएको थियो । हमालसंग भेट गर्न पाउदा गलकोटका दर्शकहरुले खुसी ब्यक्त गरेका छन ।










