
बागलुङ, १५ कार्तिक
बागलुङमा नेपाल सम्बतलाई स्वागत गर्न त्रिदिवसीय कार्यक्रम गरिने भएको छ । नेपाल भाषा मंका खलः बागलुङले त्रिदिवसी कार्यक्रमका साथ नेपाल सम्बतको स्वागत गर्ने जानकारी गराएको हो । नेपालको मौलिक सम्बत नेपाल सम्बत नै भएको भन्दै यसलाई सरकारी कामकाजमा प्रयोग गर्नुपर्ने समेत माग गरिएको छ । मंका खलः बागलुङले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी तीन दिनसम्म शुभकामना आदान प्रदान, मोटरसाईकल ¥याली र मूल समारोह कार्यक्रम गरी नेपाल सम्बतलाई स्वागत गर्ने बताएको छ ।
‘नेपाल सम्बत नेपालको मौलिक सम्बत हो, हामीले भारतबाट आयातिक विक्रम संम्बतलाई प्रयोग गरिरेहका छौं,’ नेपाल भाषा मंका खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले भने,‘हामीले हाम्रो आफ्नो सम्बतलाई जोगाईराख्नका लागि विविध कार्यक्रम गरेर यसको स्वागत गर्ने तयारी गरेका छौं ।’ मूल समारोहको अवसरमा नेवारी संस्कार र संस्कृतिलाई पनि प्रस्तुत गर्ने तयारी गरिएको उनले बताए । ‘विगतमा शासकले आफ्नो अनुकुलको संस्कार र संस्कृति चाह्यो,’ उनले भने,‘हामीले हाम्रो संस्कार र संस्कृतिलाई जोगाउनुपर्छ भनेर अहिले त्यसको अध्ययनमा पनि लागेका छौं । सम्भव भएसम्मका संस्कृतिहरु हामी प्रस्तुत गर्छौं ।’
नेपाल सम्बतको अवसरमा कार्तिक १८ गते शुभकामना आदान प्रदान, २१ गते ¥याली र २२ गते मूल समारोह आयोजना गरिएको छ । शंखधर शाख्वाले गरिबहरुको ऋण मिनाहा गरेर सुरुवात गरेको नेपाल सम्बतकै कारण नेपालले राष्ट्रसंघको सदस्यता पाएकाले यसलाई जोगाउनुपर्ने मंका खलः बागलुङका सचिव सुदिप राजभण्डारीले बताए । नेपाल भाषा मंका खलः मूल आयोजक रहेको नेपाल सम्बत ११३९ आयोजक समितिमा नेवा ल्याम्ह पुचः, नेवा मिसा दवुः, ज्ञानोदय बुद्ध विहार, नेवा मुक्ति मोर्चा र शंखधर बहुउद्देश्यीय सहकारी संस्था सहआयोजकको रुपमा छन् ।










