
बागलुङ, ३१ असोज ।
बागलुङ नगरपालिका—१ खनियाबासकी फुलमाया माझी अहिले खुशीले फुरुङ्ग छिन् । लामो समयपछि आफ्नै घरमा दशैंलाई स्वागत गर्न पाउँदा उनको मनमा खुशीको सिमा छैन । ‘मलाई थाहा पनि छैन, सायद यहाँबाट बस्ती विस्थापित भएर बाँगेचौर जाँदा म त जन्मेकी पनि थिईनँ होला,’ फुलमाया भन्छिन्,‘वर्षौंपछि आफ्नै घरमा दशैं मनाउन पाउँदा निकै खुशी लागेको छ ।’ हरेक वर्ष दशैंमा घर दिन्छौं भन्ने आश्वासन मात्रै सुन्दै आएकोमा यस पटक साँच्चै आफ्नै घरमा दशैं मनाउने पाएको उनले बताईन् । ‘हामी भदौं देखि नै यहाँ बस्न थालेका हौं,’ उनले भनिन्,‘सडक नालीहरुको व्यवस्थापन हुन बाँकी छ । बाँगेचौरमा बस्दा साह्रै समस्या भएर हामी हतारमा यहाँ स¥यौं ।’
विसं २०४६ मा बागलुङ–पोखरा सडक खन्ने क्रममा घरबास गुमाएको माझी समुदाय तीन दशक देखि बागलुङ नगरपालिका–१ स्थित बाँगेचौर खेल मैदानको किनारमा अस्थायी घरटहरामा बस्दै आएका थिए । दुई वर्ष बागलुङ नगरपालिका नगरविकास कोष र माझी बस्ती व्यवस्थापन समितिबीच बस्ती व्यवस्थापनका लागि घर बनाउने गरी त्रिपक्षीय सम्झौता भएर काम अगाडी बढेपछि अल्पसंख्यक माझीहरुले आफ्नै घर पाएका हुन् । लामो समयपछि आफ्नै घरमा बस्न पाउँदै छुट्टै आनन्दको महसुस भएको उमा माझी बताउँछिन् । ‘लामो समयपछि अहिले आफ्नै घरमा बस्न पाएका छौं, हाम्रो सबै आफन्त अहिले एकै ठाउँमा हुन पायौं,’ उनले भनिन्,‘खुशी नै लागेको छ । अझै यहाँका तीन वटा घरको लालपुर्जा बनेको छैन । लालपुर्जा पनि बन्यो भने अझ सजिलो होला ।’

घरमा बसेपछि लालपर्जा पनि पाईने विश्वास व्यक्त गरिन् । ‘नगरपालिकाका सरहरु आएर एकचोटी हेरेर जानुभएको छ,’ उनले भनिन्,‘हामी चाँडै आएर कागजी कुरा पु¥याउँछौं भन्नुभएको छ क्यारे । बसेपछि लालपुर्जा पनि पाईएला भन्ने विश्वास छ ।’ बस्ती व्यवस्थापनका लागि आवश्यक बजेट र जग्गाको व्यवस्थापन भएपछि २०७३ को पुसमा बागलुङ नगरपालिका र मुक्तिनाथ विएण्डबी त्रिशक्ति निर्माण कम्पनी काठमाडौंबीच एक वर्षमा १४ घर निर्माण गर्नेगरी सम्झौता भएर काम अगाडी बढेको थियो । घर पाएर मात्रै पनि माझीहरुको समस्याको समाधान भने भएको छैन । आफ्नो पुख्र्यौली पेशाबाट विमुख हुँदएका उनीहरुलाई रोजगारीको पनि खाँचो छ ।

‘हामीले त नदि किनारमा गिटी र बालुवाका काम गरेर जीवन वितायौं,’ उमाले भनिन्,‘जसरी तसरी छोराछोरीलाई अलि अलि भए पनि आँखा देख्ने बनाएका छौं । उनीहरुलाई सानो तिनो भए पनि रोजगारीको व्यवस्था गरिदिए राम्रो हुन्थ्यो ।’ माझी समुदायले दशैं धुमधामका साथ मनाउँछन् । घरमा जमरा जमरा भने राख्दैनन् । ‘पहिले पहिले पुर्खाहरु घरमै जमरा राख्दा जति वर्ष जमरा राख्या उति वर्ष कन्या केटीको मृत्यु भएपछि हामी घरमा जमरा राख्न छोडेका हौं,’६५ वर्षीय सोमबहादुर माझीले भने,‘अरुकै घरमा जमरा राख्न लगाएर दशैं मनाउने गरेका छौं ।’ एक वर्ष भित्रै माझीलाई घर बुझाउने भनेर काम सुरु गरेको कम्पनीले कमसल निर्माण सामग्री प्रयोग गरेको गुनासो आएपछि यसको निर्माण प्रक्रिया लम्बिएको हो ।
बीचमा ठेकेदारको लाहपरबाही र सरकारी प्रक्रिया केही झन्झटीलो पनि भएको बस्ती निर्माण केही ढिलो भएको माझी बस्ती व्यवस्थापन समिति अध्यक्ष केबि रानामगरले बताए । ‘निर्माण जिम्मा लिएको ठेकेदारले कमजोर सामग्री प्रयोग गरेर केही समय निर्माणका काम अवरुद्ध भयो,’ रानाले भने,‘नगरपालिकाको केही प्रक्रियागत कुराले पनि ढिला हुन सहयोग पु¥यायो ।’ बस्ती निर्माणको योजना बनाउन प्राविधिक रुपमा केही गल्तीहरु भएका कारण बस्ती निर्माण ढिला भएको नगरपालिकाले जनाएको छ । ट्वाईलेट बाथरुमको निर्माण सम्झौतमा उल्लेख नभएका कारण समस्या भएको नगरपालिकाको भनाई छ । ढिलो गरी भए पनि निर्माण सम्पन्न भएपछि अहिले माझीहरु नयाँ घरमा सरिसकेका छन् ।
बाँगेचौरको छाप्रोमा बस्दा समस्या भएका कारण माझीहरु तल नयाँ घरमा सरेको बागलुङ नगरपालिकाका प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदीले बताए । ‘माथि बस्दा समस्या भएका कारण उहाँहरु नयाँ घरमा सरिसक्नुभयो,’उनले भने,‘हामीले यो तिहार भित्र बस्ती आधिकारिक रुपमा उहाँहरुलाई हस्तान्तरण गर्छौं । यो दशैंमा गर्ने भनेको सकिएन ।’ करिब रु ८२ लाखको लागतमा ‘ब्लक’ र जस्तापाताको प्रयोग गरी माझीहरुका लागि बानपा—१ का खनियाबासमा घर निर्माण गरिएको छ । एक करोड १३ लाख रुपैयाँको लागत अनुमान गरिए पनि ठेकेदार कम्पनीले ८२ लाख ३० हजारमा बनाउने जिम्मा लिएको थियो । नगर विकास कोषको ८० प्रतिशत अनुदान, १० प्रतिशत ऋण र १० प्रतिशत स्थानीय श्रमदानमा बस्ती निर्माण भएको हो ।














