
बागलुङ, २८ असोज ।
बागलुङमा पछिल्लो चरणमा फुटबल प्रतियोगिता बढिरहेको छ । बागलुङ बजारमा प्रतियोगिताको आयोजना भईरहने गरेता पनि अहिले गाउँ गाउँमा पनि फुटबल प्रतियोगिताहरु भईरहेका छन् ।
जिल्लामा फुटबलको क्रेज र दर्शकको साथ कतिको छ भन्ने बारेमा अहिले बडा दशैंको अवसरमा बागलुङका गाउँ–गाउँमा भएका फुटबल प्रतियोगितालाई हेर्दा प्रष्ट हुन्छ । गाउँ गाउँमा साना साना खेलमैदान भएपनि अहिले ११ जना खेल्न नमिल्ने ठाउँमा ७ जना खेलाडीहरु खेली ७ ए साईट फुटबल प्रतियोगिताको आयोजना गर्ने गरिएको छ ।
बडा दशैंको अवसरमा बागलुङ नगरपालिका १० भकुण्डेमा भकुण्डे महोत्सवको आयोजना नै गरेर प्रतियोगिता संचालन भईरहेको छभने आज आईतबारदेखि बागलुङ नगरपालिका–१३ पैयुपाँटामा पनि ७ ए साईट फुटबल प्रतियोगिताको सुरुवात भएको छ ।
बलेवा युवा जागरण मञ्चको आयोजनामा संचालन भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक टिम बलेवा युवा जागरण मञ्चले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा बलेवाले अमलाचौर फुटबल क्लबलाई ५–० गोलअन्तरले पराजित गरेको थियो ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले फुटबलको विकासको लागि सवै खेलप्रेमी एक जुट हुनुपर्ने बताउनुभयो । उहाँले देशमा पछिल्लो अवस्थामा फुटबलको क्रेज बढिरहेको अवस्था र बालबालिकाहरु फुटबलप्रति आकर्षित भएको बेलामा प्रतियोगिताले थप उत्साह पैदा गर्ने बताउनुभयो ।
उक्त अवसरमा जिल्ला फुटबल संघ बागलुङले बलेवा युवा जागरण मञ्चलाई २ ओटा फुटबल बल हस्तान्तरण गरेको थियो । फुटबलको विकासको लागि र युवाहरुलाई फुटबल खेलमा आकर्षण गराउन र प्रतियोगितालाई सफलता तुल्याउन बल हस्तान्तरण गरेको अध्यक्ष गुरुङले जानकारी दिए । जिल्ला फुटबल संघले यस अगाडी भकुण्डेमा पनि बल हस्तान्तरण गरेको थियो ।
यस्तै आजै भएको दास्रो खेलमा नारायणस्थान फुटबल क्लबले लालिगुराँस फुटबल क्लबलाई ४–० गोलअन्तरले पराजित गरेको छ । तेस्रो खेलमो बलेवा जागरण युवा क्लब (वि)ले घडेरी युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको छ ।
७ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले १५ हजार र उपविजेताले १० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।










