
बागलुङ, २५ असोज ।
कास्कीको हेम्जामा बुधबारदेखि संचालन भएको माछापुच्छ्रे त्रिशक्ति युनाईटेड कपमा जिल्ला फुटबल संघ बागलुङको बागलुङ ११ टिम पराजित भएको छ ।
बिहीबार भएको समुह चरण अन्तरगतको खेलमा विष्णुपादुका युवा क्लब हेम्जासँग ४–२ गोलअन्तरले पराजित हुँदै बागलुङ ११ समुह चरणबाटै बाहिरीएको छ ।
पहिलो हाफमा केही दबाबमा खेलेको बागलुङ ११ लाई विष्णुपादुका युवा क्लबले ३–० ले अग्रता दिएको थियो । बागलुङका नयाँ युवा खेलाडीहरुलाई प्राथमिकतामा राख्दै खेलेको बागलुङ ११ ले दोस्रो हाफमा आक्रमक खेल प्रस्तुत गर्दै ४–२ गोलअन्तरको पराजय व्यहोर्न पुगेको थियो ।
बागलुङका नाम चलेका खेलाडी भन्दा पनि नयाँ खेलाडीहरुलाई स्थान दिनुपर्ने भन्दै धेरै नयाँ खेलाडीहरुलाई प्राथमिकतामा राख्दै खेलेको बागलुङको लागि दोस्रो हाफको ५० औं मिनेटमा पाएको पेनाल्टीमा युबेश थापा मगरले गोल गरेका थिएभने ६२ औं मिनेटमा प्रमल थापाले उत्कृष्ट गोल गरेका थिए ।
विष्णु पादुकाको लागि सम्मर कार्कीले ३ गोल गर्दै ह्याट्रिक पुरा गरेका थिएभने सुनिल गोथेले १ गोल गरेका थिए ।
बागलुङ ११ का दुई जना खेलाडीहरु काठमाडौंमा जारी शहिद स्मारक ए डिभिजन क्लबमा सहभागिता जनाएको र केही खेलाडीहरु घाईते र केहीलाई विश्राम दिइएकाले खेलमा पराजित हुन पुगेको जिल्ला फुटबल संघ बागलुङले जनाएको छ ।
नयाँ खेलाडीहरुलाई पनि विशेष प्राथमिकता दिनुपर्ने र नयाँ बालबालिकालाई खेल तर्फ आकर्षण गर्नको लागि पनि नयाँ खेलाडीहरुलाई प्रतियोगितामा सहभागिता गराएको फुटबल संघले जनायो ।
१२ टिमले सहभागिता जनाएको उक्त प्रतियोगिताको विजेताले नगद ७७ हजार ७ सय ७७ रुपैयाँ, उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ र सेमिफाईनलमा पुग्ने टिमलाई ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।










