ग्रास रुटको कार्यक्रममा बालबालिकाको आकर्षण बढ्दो

बागलुङ, १३ असोज
अखिल नेपाल फुटबल संघ एन्फाले सुरु गरेको ग्रास रुट फुटबलमा बालबालिकाको रुचि बढ्न थालेको छ । जिल्ला फुटबल संघ बागलुङले बाङ्गेचौर खेलमैदानमा गरिरहेको अभ्यास चरणको दोस्रो हप्तामै विद्यालयका बालबालिकाले उत्साहजनक सहभागिता जनाएका छन् ।
हरेक हप्ताको विहिबार र शुक्रबार विद्यालयमा र शनिबार विहान बाङ्गेचौर खेलमैदानमा संचालन गरिएको ग्रासरुट कार्यक्रमको अभ्यासमा बालबालिकाहरुको उल्लेखनीय उपस्थित भएपछि जिल्ला फुटबल संघका पदाधिकारीहरु उत्साहित भएका छन् । खेलमैदानमा बालबालिका मात्र नभई उनका अभिभावक समेत उपस्थित हुने गरेका छन् ।


जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले ग्रासरुट कार्यक्रमले फुटबलको विकास सँगै बालबालिकालाई अनुशासित र कुलतबाट टाढा राख्न सहयोग पुग्ने बताउनुभयो । गुरुङले ग्रासरुट कार्यक्रमले अहिलेको अवस्थामा बालबालिकाहरुलाई पढाईसँगै खेलकुदमा व्यस्त बनाउनेछ जसले गर्दा उनीहरुलाई स्वस्थ राख्नुका साथै कुलतबाट मुक्त रहन ठूलो भुमिका खेल्ने बताउनुभयो ।
स्कुले बालबालिकालाई फुटबलमा सहभागिता गराउने र भविश्यमा राष्ट्रको लागि राम्रो खेलाडी उत्पादन गर्ने उद्देश्य लिएको छ । बागलुङमा अहिले ६ विद्यालयका ८ वर्षदेखि १३ वर्ष उमेर समुहका बालबालिकाहरु शनिबार ४ सय जना उपस्थित हुने गरेको जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले बताउनुभयो ।


उक्त कार्यक्रम संचालनको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्ला संघलाई १ लाख बराबरको खेलकुद सामाग्रि सहयोग गरेको छ । यस्तै एन्फाले खेलमैदान व्यवस्थापनको लागि १० लाख रुपैयाँ सहयोग गरेकाले अहिले बाङ्गेचौर खेलमैदानमा खेलाडीहरुको लागि चेन्जीङ रुम र सानो प्याराफिट बनाउने योजना बनाएको अध्यक्ष गुरुङले बताउनुभयो । अहिले खेलाडीहरुको लागि जर्सि चेन्ज गर्ने र दर्शकहरुलाई खेल हेर्नाको लागि राम्रो बस्ने स्थान नभएकाले चेन्जीङरुम र प्याराफिट बनाउने योजना गराएका अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।
अखिल नेपाल फुटबल संघले ४५ जिल्लामा ग्रासरुट कार्यक्रम संचालन गरिरहेको छ । अन्य जिल्लामा औपचारिक रुपमा सुरुवात गरिएपनि बागलुङमा मैदान हिल्लाम्मे भएका कारण तोकिएको समयमा उद्घाटन सम्भव भएको छैन । औपचारिक उद्घाटन नगरिए पनि हरेक हप्ताको ३ दिन ग्रासरुट कार्यक्रम संचालन भईरहेको जिल्ला फुटबल संघ बागलुङले जनाएको छ । औपचारिक उद्घाटन केहि हप्ता भित्र गरिने अध्यक्ष गुरुङले जनाए । ग्रासरुट कार्यक्रमको लागि बागलुङ नगरपालिका र जिल्लाका विभिन्न संघसंस्थाहरुले समेत सहयोग गरेको जिल्ला फुटबल संघले जनाएको छ ।
ग्रासरुट कार्यक्रममा एन्फाका प्रशिक्षक भिम बहादुर बोहोरा र प्रमेश थापाले प्रशिक्षण दिएका छन् ।