छात्रा विद्यार्थीहरुलाई आत्मसुरक्षा तालिम

बागलुङ, १२ असोज
देशमा घटिरहेका बलत्कार, जबरजस्ती करणी र महिला हिंसा विरुद्धको घटनाहरुलाई न्यूनिकरण गर्नको लागि बागलुङका छात्रा विद्यार्थीहरुलाई दुई दिने आत्मसुरक्षा तालिम शुक्रबारदेखि सुरु भएको छ ।
लियो क्लब अफ बागलुङ कालिकाको आयोजनामा संचालित उक्त तालिममा बागलुङ बजारका ६ ओटा विद्यालयका ५५ जना छात्रा विद्यार्थीहरुको सहभागिता रहेको लियो क्लब अफ बागलुङ कालिकाका सहसचिव रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।


तालिमको उद्घाटन समारोहमा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक रेग्मी, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रीक एडभाईजर, जोनचेयर प्रसन दुर्गा कुँवर लगायतले बोल्नुभएको थियो । लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष अर्जुन कंडेलको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत सहसचिव रामप्रसाद घिमिरे र संचालन सचिव सन्देश बोगटीले गर्नुभएको थियो ।
शुक्रबार तालिममा किशोरीहरुलाई जबरजस्ती, बलत्कार र महिला हिंसा भएमा कसरी सुरक्षित हुने तथा कानुनी उपचार कसरी गर्न सकिन्छे भन्ने बारेमा प्रहरी उपरिक्षक दिपक रेग्मी र कानुनी उपचारको बारेमा महिला अधिकारकर्मी ममतादेवी शर्मा र लक्ष्मी बाँस्कोटाले प्रशिक्षण दिनुभएको कार्यक्रम संयोजक रामु शर्माले जानकारी दिनुभयो ।


यस्तै शनिबार उँसु र करातेका प्रशिक्षकबाट किशोरीहरुलाई आत्मसुरक्षा गर्न विभिन्न लक तथा उँसु र कराते सिकाईने बताइएको छ ।
लियो क्लब अफ बागलुङ कालिकाले महिला हिंसा र बलत्कारको घटना न्यूनिकरणको लागि अन्य विद्यायहरुमा गएर पनि तालिम दिइने तथा अन्य कार्यक्रमहरु गर्दै जाने अध्यक्ष कंडेलले जानकारी दिनुभयो ।