रातो माटो लिन जाँदा पुरिएर एक जनाको मृत्यु ३ जना घाईते

बागलुङ, १२ असोज ।
म्याग्दीमा रातो माटो लिन जाँदा ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छभने ३ जना घाईते भएका छन् ।
शुक्रबार बेनी नगरपालिका–२ ज्यामरुककोटको फाँपरखेतमा माटाको ढिस्कोले पुरिएर बेनी नगरपालिका–२ ज्यामरुककोटकी ३५ वर्षिय कल्पना बोहोराको उपचारको लागि धौलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याउँदै गर्दा मृत्यु भएको छभने सोही स्थानकी ५० वर्षिय तेजकुमारी घिमिरे, २३ वर्षिय सिर्जना थापा र बागलुङ नगरपालिका–५ मालिकाकी २४ वर्षिय निसा सापकोटा घाईते भएका छन् ।
सापकोटाको अवस्था गम्भिर भएकाले थपउपचारको लागि पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका हवल्दार प्रेम बहादुर खड्काले जानकारी दिनुभयो । घिमिरे र थापाको अवस्था सामान्य भएकाले अहिले धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भईरहेको ।
उनीहरु रातो माटो खनिरहेको अवस्थामा सिँचाईको कुलो नजिक ढिस्कोले पुरिएका थिए । ‘ढिस्कोमा पुरिएको खवर पाएलगत्तै गाउँलेले उद्धार गरेका थिए,‘जोखिमपूर्ण ठाउँ भएकाले हिजोमात्रै माटो निकाल्न रोक लगाइएको थियो’ स्थानीय भिम बहादुर पौडेलले भन्नुभयो । उहाँका अनुसार सडक र नजिकै सिचाँई भएकाले माटो खन्दा पहिरो जान सक्ने भएकाले बन्द गरिएको थियो ।
स्थानीयले थप दुर्घटनाको सम्भावना भएका ठाउँमा माटो निकाल्न रोक लगाउने बताएका छन् । चाडपर्वमा ज्यामरुककोट र रत्नेचौरमा रातो माटाको खोजीमा जिल्लाका विभिन्न ठाउँबाट समेत जान गर्दछन् । पछिल्लो समय गाउँघरमै पक्की घर बन्न थालेपछि संख्या ह्वात्तै घटेपनि स्थानीयले कच्ची र पुराना घर भएकाले अझैपनि जोखिम मोलेर माटो निकाल्ने गरेका छन् ।