
बागलुङ, ४ असोज ।
नेपाल राष्ट्रिय वाणिज्य संघ बागलुङ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङले बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ मा वृद्धि गरेको व्यवसायिक करको विरोध गरेका छन् ।
दुई व्यापार संघ, संगठनको अध्ययन कार्यदलले बिहीबार नरपालिकाका उपप्रमुख तथा राजश्व परामर्श समितिका संयोजक सुरेन्द्र खड्का वृद्धि गरिएको व्यवसायिक करको दरमा पुनर्विचार गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको नेपाल राष्ट्रिय वाणिज्य संघका जिल्ला सचिवालय सदस्य खिम बहादुर कार्कीले जानकारी दिनुभयो ।
अध्ययन कार्यदलका संयोजक बद्री ढुंगानाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा देशका अरु नगरपालिका तथा महानगरपालिकामा निर्धारित करभन्दा अत्याधिक बढी भएको र उक्त कर निर्धारण कारोबारको आधारमा नगरी हचुवाको भरमा गरिएको भन्दै त्यसलाई पुनर्विचार गरी प्रगतिशिल कर लागु गर्न माग गरिएको छ ।

संघिय संरचनाका कारण बागलुङ बजारको खस्कँदो व्यापार व्यवसायलाई प्रवद्र्धन गर्न बागलुङ नगरपालिकाले आगामी कार्य योजनामा व्यवसायमिैत्री योजना निर्माण गर्न, कारोबारका आधारमा प्रगतिशिल कर निर्धारण गर्न, व्यवसाय कर निर्धारण गर्दा विषय विज्ञहरुको संलग्नतामा सुझाव संकलन गर्न, करदाताहरुको सामाजिक सुरक्षाको क्षेत्रमा विशेष योजना अगाडी ल्याउन र व्यवसायिक विशेष राहतको प्याकेजलाई विस्तार गर्न तत्काल उपयुक्त कदम अगाडी बढाउन व्यवसायिहरुले ज्ञापनपत्र मार्फत माग गरेका छन् ।
ज्ञापनपत्र बुझाउन अध्ययन कार्यदलका साथै नेपाल राष्ट्रिय वाणिज्य संघका सदस्यहरु, केन्द्रीय सदस्य पुनम शर्मा लगायत नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका पदाधिकारीहरु नगरपालिकामा पुगेका थिए ।










