
बागलुङ, १७ भदौ ।
नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले संघीयताकै कारण देशमा अशान्ति, आर्थिक बोझ र राष्ट्रियता खतरामा पर्ने हुँदा संघीय संरचना खारेज गर्नुपर्ने बताउनुभएको छ ।
प्रगतिशिल पत्रकार सघ, बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री सिंहले संघीय संरचनाको खर्च व्यवस्थापनको लागि राज्यले अस्वभाविक ढंगले कर संकलन गरी जनतालाई दुःख दिएको बताउनुभयो ।
संघीय सरचनाकै कारण संघीय सरकारले स्थानीय तहलाई दिनुपर्ने अनुदान रकम सिमित रहेको उल्लेख गर्दै संघीयता खारेको लागि आफ्नो पार्टीले संसदमा संशोधन दर्ताका साथै देशव्यापी विरोधका कार्यक्रम गर्ने जानकारी दिनुभयो ।
संघीयताको नाममा धर्मनिरपेक्षता, तराई विखण्डन गर्ने संविधान संशोधन जस्ता मुद्दा उठिरहेको उल्लेख गर्दै उहाँले तराई विखण्डन गर्ने संशोधनमा सरकार सचेत र चनाखो बन्न सुझाव दिनुभएको छ ।
महामन्त्री सिंहले दुई तिहाईको वर्तमान सरकार अलमलमा परेको दावी गर्नुभयो । वर्तमान सरकारले आफ्नो घोषण पत्र तथा संविधानले कल्पना गरेको समाजवाद उन्मुख नीति तथा कार्यक्रम संचालन गर्नबाट चुकेको उहाको आरोप थियो । सरकार आन्तरिक तथा बाह्य दवावले समाजवाद उन्मुख कार्यक्रम गर्न चुकेको छ उहाँले भन्नुभयो– दृढ इच्छा शक्तिका साथ काम गरे समाजवादी उन्मुख कार्यक्रम गर्न सकिन्छ ।
भारतले चीन र पाकिस्तानलाई एक्लाएर आफ्नो प्रभाव र हस्तक्षेप विस्तार गर्न सार्क तथा विमस्टेक जस्तो फोरम निर्माण गरेको उल्लेख गर्दै उहाँले नेपाल जस्ता सर्वभौमसत्ता सम्पन्न देश समयमै सचेत बन्नुपर्ने उहाँले टिप्पणी गर्नुभयो
कार्यक्रम प्रगतिशिल पत्रकार संघका केन्द्रीय सदस्य ताराप्रसाद शर्माको अध्यक्षता, सदस्य टिकासंगम विकको स्वागत र प्रकाश छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।










