बागलुङ, ३० साउन ।
जिल्लाको निसीखोलामा अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा दुई जना बेपत्ता भएका छन् । निसीखोला गाउँपालिका वडा नम्बर ३ धुर्सौलाका मानबहादुर शाहीको घर गए राति पहिरोले पुरिँदा घरमा रहेका उनकी ६५ वर्षीया श्रीमती धनकुमारी शाही र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएको स्थानीयले बताएका छन् ।
उनीहरू पहिरोमा पुरिएको हुन सक्ने आशंका गरिएको छ । शाहीका पाँच वर्षिय नाति विवेक शाहीको भने घाइते अवस्थामा उद्दार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए । घरमुली मानबहादुर भने गोठमा गएकाले ज्यान जोगिएको छ ।
घटनास्थलमा अहिले प्रहरी र स्थानीय बासिन्दाले उद्दार कार्य जारी राखेका छन् । थप उद्दारको लागि इलाका प्रहरी कार्यालय, बिहूँ घोँडाबाधेबाट नेपाली सेना, अर्जुनवाण गणको टोली पनि त्यसतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिएका छन् ।










