
बागलुङ, २२ साउन
सेन्चुरी कमर्शियल बैंक लिमिटेडले धौलागिरीको बागलुङ र पर्वतमा एकै दिन दुई शाखा सञ्चालनमा ल्याएको छ ।
बागलुङको बागलुङ बजार र पर्वतको कुश्मा बजारबाट बैंकले मंगलबारदेखि औपचारिक रुपमा सेवा सुरुवात गरेको हो । पर्वतमा ११२औँ र बागलुङमा ११३औँ शाखाको रुपमा बैकले शाखा विस्तार गरेको संचालक समितिका अध्यक्ष राजेश श्रेष्ठले जानकारी दिनुभयो ।
बागलुङ शाखाको उद्घाटन पछि बोल्दै प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले बैंक नाफामुखी मात्रा नभई सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर आर्थिक गतिविधि संचालन गर्नुपर्नेमा जोडदिनुभएको थियो ।
प्रतिस्पर्धात्मक बजारमा सेन्चुरी बैंकले आफ्नो सेवा प्रवाह मार्फत नै उपभोक्ताको मन जित्नुपर्ने बताउनुभयो । वित्तिय अनुशासनलाई कायम राख्दै आर्थिक गतिविधि संचालन गर्नुपर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष श्रेष्ठले हाइड्रो पावर, व्यवसायिक कृषि, पर्यटन तथा साना, मझौला र ठूला व्यवसायिक क्षेत्रमा गरी बैंकले लगानी गर्ने बताउनुभयो । कार्यक्रममा बागलुङ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बोल्नुभएको थियो ।
त्यस्तै, पर्वत शाखाको शुभारम्भ समारोहमा बोल्दै कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले कुस्मामा संचालित बैंकहरुले अस्वच्छ प्रतिस्पर्था गर्दै मनपरी रुपमा कर्जा प्रवाह गर्दा ऋण उठाउन नसकोको बताउनुभएको थियो । उहाँले बैंकहरुको बैंकिङ सेवा कुश्मा बजारमा मात्रै सिमित नभई स्थानीय तहहरुमा पनि जानुपर्नेमा जोडदिनुभयो ।
सेञ्चुरी बैंकको कुस्मा शुभारम्भको अवसरमा यहाँका सवै बैंकका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो । सेञ्चुरी बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम समपन्न भएको हो । सेञ्चुरी बैंकको शुभारम्भको अवसरमा पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष गोपी अधिकारी, सेञ्चुरी बैंक गण्डकी प्रदेशका प्रमुख शेखरराज बस्ताकोटी लगायतले बोल्नुभएको थियो ।










