महंगी आन्दोलन र जनप्रतिनिधि

राजेशचन्द्र राजभण्डारी
जब पर्याे राती तब बुढी ताँती भने झै अहिले देशको प्रमुख बिपक्षी दल नेपाली कांग्रेस आन्दोलनमा उत्रिएको छ । अहिले देशको राजधानी देखि ७७ जिल्लाभरि भइरहेको महंगी, अन्याय, अत्याचार, भ्रष्टाचार, नातावाद, कृपावाद लगायतका समसामयिक बिषयलाई प्रमुख मुद्दा बनाएर आन्दोलन गरेपछि अहिले सडकमा आन्दोलन भइरहेको देख्न सकिन्छ । हो अहिले देशमा इतिहास कै शक्तिशाली बामपंथी सरकार छ । त्यो पनि चानचुने हैन पुरै दुई तिहाइको अहिलेको सरकारलाई कसले हल्लाउने इन्द्रेको बाउ चन्द्रे आएपनि केही गर्न नसक्ने भन्ने घमण्ड छ ।
अहिले देशमा महंगी भ्रष्टाचार नातावाद सबै चलिरहेको कुरामा कुनै शंका छैन । नेपाली जनताले जेजस्तो सोचेका थिए त्यो अनुसार केही पनि हुन नसकेको कुरा पनि सत्य नै हो । जुन समसामयिक बिषयलाई काङ्ग्रेसले मुद्दा बनाएको छ त्यसलाई अन्यथा मान्नुपर्ने देखिदैन । डाक्टर गोबिन्द केसीको मुद्दामा बिरोधको राजनीति शुरू गरेको काङ्ग्रेसलाई अहिलेको सरकारले डाक्टर गोबिन्द केसीको माग पूरा गरिदिएपछि आन्दोलन गर्ने आधा बिषय घटेको छ । ५ बर्षको लागि बनेको केपी ओलीको नेतृत्वको सरकार अहिले काङ्ग्रेसले आन्दोलन गरेकै भरमा राजीनामा दिने वाला छैन । अहिले देशमा सरकार बनेको १ बर्ष पनि बितेको छैन ।
अहिले सरकारले चाहने हो भने मुल्य बृद्धि कम हुन सक्छ, भ्रष्टाचार न्युनि करण हुन सक्छ, बलात्कार गर्नेलाई कार्बाही हुन सक्छ, नातावाद कृपाबाद कम गर्न सकिन्छ त्यो कुरा भने सत्य हो । सरकारसंग अहिले नेपाली जनताले नत पानी जहाज मागेका छन् नत रेल नै । अहिले भइरहेको सरकारी कामको ढिलासुस्ती कम होस्, सडक निर्माण गर्छु भनेर कामको जिम्मेवारी लिएको ठेकेदारलाई उसले भनेको समयमा काम पूरा गराउन दवाव दिन सके नेपाली जनताले जोखिम पुर्ण यात्रा गर्नुपर्ने थिएन । अकालमा मर्नु पर्ने थिएन भन्ने सामान्य सुधारको माग गरिरहेका छन् । राजधानी कै सडक अस्तब्यस्त छ । जतासुकै खाल्डो छ । १५ मिनेटको सडकमा यात्रा गर्न २ घण्टा लाग्छ । नत हिड्न सकिने नत सवारी साधन चढेर यात्रा नै गर्न सकिने यातायात क्षेत्रमा भएको सेण्डिकेट कानुनी रूपमा हटेको घोषणा भयो तर समस्या भने बिसको उन्नाइस भएको छैन । सरकार चुपचाप तमासे बन्ने भन्दा अरू केही बन्न सकेको छैन यात्रुहरू पैसा तिरेर पनि सकस पुर्ण यात्रा गर्न बाध्य छन् ।
विद्यालयमा पढ्न जाने बालबालिका नत भनेको समयमा स्कुल पुग्न सक्छन् नत भनेको समयमा घरमै पुग्न सक्छन् । जताततै बाटो भत्किएको छ । अहिले आन्दोलनमा उठाउनुपर्ने प्रमुख मुद्दा बरू चाहिँ यो देखिन्छ तर यसबारे कसैलाई पनि नत मतलब छ नत ध्यानाकर्षण नै भएको छ ।
अहिले आन्दोलनमा नेपाली काङ्ग्रेसको सबै शक्ति लागि रहेको छ । यसलाई अन्यथा मान्नुपर्ने ठाउँ छैन । स्थानीय तहमा निर्बाचित जनप्रतिनिधि, प्रदेश सभाका जनप्रतिनिधि र संघिय सभाका सांसदहरू समेत पार्टीको झन्डा बोकेर आन्दोलन गरिरहेका छन्  । एकातिर महंगी बढेको जनताको जनजिवन प्रभावित भएको भनेर आन्दोलन गरिरहेका छन् । साच्चै नाटक गर्नुको पनि हद हुन्छ भन्या एकातिर आफै स्थानीय तहको जनप्रतिनिधि बन्ने अर्कोतिर आफै ऐन कानुन नियम बनाएर हिजोको दिनमा २५ रूपैयाँ तिर्दै आएको करलाई २५ सय बनाउने, १ हजार कर लाई १० हजार पु¥याउने अनि अहिले सरकारले महंगी नियन्त्रण गर्न सकेन भनेर आफै आन्दोलनमा उत्रनु कहाँको नैतिकता हो ।
अहिले स्थानीय तहको जनप्रतिनिधि भनेको एउटा पार्टी विशेषको मात्रै हैन निर्वाचन जितिसकेपछि सबैको हो भन्ने कुराको हेक्का राख्न नसक्नु सबैभन्दा ठूलो बिदम्वना हो भन्ने लाग्छ । अहिले सबैभन्दा बढी महंगि बढेको छ भने त्यो हो मट्टितेल, डिजेल, पेट्रोल, ग्याँस, दाल, चामल र तरकारीमा भन्दा पनि स्थानीय तहले उठाउने करमा सबैभन्दा बढी महंगी बढेको छ । अहिले सरकारी तलबभत्ता खाने जनप्रतिनिधि आन्दोलनमा उत्रन मिल्छकी मिल्दैन त्यो त अरूले भनिरहने बिषय हैन ।
सरकारले राम्रो काम गरे समर्थन गर्ने नराम्रो गरे खबरदारी गर्ने प्रतिपक्ष दलको मात्रै हैन आम नागरिकको पनि कर्तव्य हो । सरकार समर्थक नेता तथा कार्यकर्ताहरूले पनि सरकारले राम्रो काम नगरीकन बसे त्यसको आलोचना गरेर सरकारलाई झकझकाउने भुमिका खेल्नुपर्छ । ५ बर्षलाई जेजस्तो गरेपनि हुन्छ भन्ने गलत मानसिकता त्यागेर हिजो निर्वाचनको समयमा गरेका बाचा कवोललाई स्मरण गराएर जनताको पक्षमा काम गर्ने बाटोमा लाग्नुपर्छ । अहिले नेपाली काङ्ग्रेसले असल प्रतिपक्ष् को भुमिका खेल्नुपर्छ । अहिले सरकार ढलाउने सपना देखेर आन्दोलन गर्नु भन्दा आफुमा भएको कमिकमजोरीलाई सच्याउन सक्नुपर्छ । प्रजातान्त्रिक मुल्य र मान्यतालाई आत्मासाथ गरेर अगाडि बढ्नु राम्रो हुन्छ । अहिले भएको महंगी भ्रष्टाचारको बिरोध गर्ने मात्रै हैन यसलाई हटाउन आफुले पनि खेल्न सक्ने भुमिका खेल्नुपर्छ अनि समस्याको समाधान हुनेछ ।

 

२०७५ साउन २० गते प्रकाशित