सांसद पाठककी छोरीको जन्मदिनमा आश्रमलाई सहयोग

बागलुङ, १३ साउन
प्रतिनिधिसभाका सांसद सुर्य पाठकले आफ्नी छोरीको जन्मदिनको अवसरमा मानवसेवा आश्रम बागलुङलाई सहयोग गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले पाठककी छोरी सारा पाठकको तेस्रो जन्मदिनको अवसरमा पाठकको आर्थिक सहयोगमा आश्रमलाई खाद्यन्न तथा स्टेशनरी सामानहरु एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको थियो ।
सांसद पाठकले आफु संविधानसभाको बैठकमा उपस्थित हुनुपर्ने भएकाले उपस्थित नभएको उहाँका स्वकीय सचिव रमेश क्षेत्रीले जानकारी दिए । सांसद पाठकले सेवा नै धर्म भएको र आश्रममा रहेका बालबच्चा र आमाबुवालाई सहयोग गर्न भित्री मनले देखेकोले सहयोग गरेको भन्ने सन्देश दिएको स्वकीय सचिव क्षेत्रीले बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपाका नेता भुपाल चालिसेले अहिले सेवाको भावनाको अन्त्य हुँदै गएको अवस्थामा सांसद पाठकले आफ्नी छोरीको जन्मदिनको अवसरमा सहयोग गर्दा सवैलाई सेवाको भावना पैदा गर्न सहयोग पुगेको बताउनुभयो । उहाँले समाजमा अहिले हुँदा खाने र हुने खानेहरु विचमा ठूलो खाडल पर्ने लागेको अवस्थामा सांसद पाठकले दिनदुखीहरुलाई सहयोग गर्नुपर्छ भन्ने मान्यताले सहयोग गर्दा खाडल पुर्न केही सहयोग हुने बताउनुभयो । उहाँले जन्मदिन र बैबाहिक वर्षगाँठको अवसरमा पार्टी प्यालेसमा गएर ठूलो खर्च गर्दै रमाइलो गर्नुभन्दा आश्रमलाई सहयोग गर्दा दिनदुखिहरुलाई ठूलो राहत मिल्ने बताउनुभयो ।
खाद्यन्न तथा स्टेशनरी सामान बुझेपछि बोल्दै आश्रमका व्यवस्थापक तथा अभियन्ता मनिष रायमाझीले रमाइलोको बाहानामा होटलमा खर्च गर्नुभन्दा आश्रमलाई सहयोग गरेको भन्दै यसबाट घरपरिवार नभएका र अत्यन्त गरीवहरुलाई बाँच्नको लागि एक छाक खान सहयोग गर्नु महानवता रहेको बताउनुभयो । उहाँले सांसद पाठकले आश्रमलाई सहयोग गरेर मानवता प्रकट गरेको र राम्रो सन्देश पैदा गरेको बताउनुभयो ।
पाठक परिवारले आश्रमलाई ११ हजार रुपैयाँ बराबरको खाद्यन्न र स्टेशनरी सामान हस्तान्तरण गरेको छ ।
नेकपाका नेता धन बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत सांसद पाठकका स्वकीय सचिव क्षेत्री र संचालन अनेरास्ववियु बागलुङ जिल्ला सचिव तथा नेकपा बागलुङका कार्यालय सचिव शिव शर्माले गर्नुभएको थियो ।