एन्फा कपः छात्र तर्फको फाईनलमा सिदार्थ र चिल्ड्रेन भिड्ने

अर्जुन कार्की
बागलुङ, ३१ असार
बागलुङ जिल्ला फुटबल संघको आयोजनामा जारी एन्फा कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधिको लागि साविकको उपविजेता सिदार्थ शिक्षा सदन र साविकको विजेता चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल भिड्ने भएका छन् ।
प्रतियोगिता अन्तरगत आईतबार पहिलो सेमिफाइनल खेलमा सिदार्थ शिक्षा सदनले न्यू एभरेष्ट एकेडेमीलाई र चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलले अमर आदर्श बोर्डिङलाई पन्छाएका हुन ।
सिदार्थले न्यू एभरेष्टलाई ६–०को फराकिलो गोलअन्तरले हराएको थियो । खेलको ४ औं मिनेटमै अविरल पौडेलको गोलबाट अग्रता लिएको सिदार्थका लागि खेलको १३ औं मिनेटमा सुति बोहोरा, १५ औं मिनेटमा ओम मगर, २६ औं मिनेटमा युवेश थापा र २६ औं र ३५ औं मिनेटमा इश्वर बोहोराले गोल गरेका थिए ।
दोस्रो खेलमा चिल्ड्रेन लाईफले अमरलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा खेलको २४ औं मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकिकमा चिल्ड्रेनका राजिव श्रीसले गरेको गोलनै निर्णयक बनेको थियो ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुने जिल्ला फुटबल संघका कोषाध्यक्ष सुर्य लामिछानेले जानकारी दिए ।
नकआउटको आधारमा खेलाइएको प्रतियोगितामाको विजेताले नगद १५ हजार प्राप्त गर्नेछभने विद्यालय प्रदेशस्तरमा हुने एन्फा कप फुटबल प्रतियोगिताको लागि छनोट हुनेछ । यस्तै उपविजेताले नगद ८ हजार प्राप्त गर्नेछ ।
प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक कार्यक्रमअनुसार संचालन भएको हो ।