
बागलुङ, ३१ असार
बागलुङ जिल्लामा पहिलो पटक आयोजना गरिएको एन्फा कप अन्तरस्कुल स्तरिय छात्रा फुटबल प्रतियोगिताको फाइनलमा अमर आदर्श बोर्डिङ र कालिगण्डकी बोर्डिङ भिड्ने भएका छन् ।
जिल्लाका ३ वटा स्कुलले सहभागिता जनाएको छात्रा एन्फा कप अन्तरविद्यालय फुटबलमा अमर आदर्श बोर्डिङ फाइनल प्रवेश गरेको छ । आईतबार भएको खेलमा अमरले न्यू एभरेष्टलाई ट्राईबेकरमा ५–३ गोलअन्तरले पन्छाएको हो ।
खेलअबधिभर दुवै टोली गोलरहित बराबरी भएपछि विजेताको टुंगो ट्राईबेकरबाट गरिएको थियो । ट्राईबेकरमा अमर आदर्शकी किपर अमिसा खड्का (प्रिति) नायक बनेपछि अमर फाइनल प्रवेश गरेको हो । न्यू एभरेष्टकी दिविना श्रीस मगरले प्रहार गरेको पेनाल्टी अमरकी अमिसाले रोकेकी थिइन ।
छात्रा तर्फको फाइनलमा आईतबार अमर आदर्शले कालिगण्डकी बोर्डिङसँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक विकास थापाले जानकारी दिनुभयो । कालिगण्डकी बाई पर्दै फाइनलमा प्रवेश गरेको थियो ।

बगलुङ जिल्ला फुटबल संघका अध्यक्ष रामराज गुरुङले जिल्लामा पहिलो पटक छात्राहरुको फुटबल प्रतियोगिता संचालन गर्दा तीन ओटा स्कुलले सहभागिता जनाएको बताउँदै आउँदो दिनमा अरु स्कुलहरुले पनि सहभागिता जनाउने आशा गरेको बताउनुभयो । उहाँले बागलुङमा पनि छात्राहरुको फुटबलप्रतिको क्रेज बढेकाले आफुहरुले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । फाइनल खेल आईतबार हुने जिल्ला फुटबल संघका महासचिव जय राजभण्डारीले जानकारी दिए ।










