एकद्वार संकट व्यवस्थापन केन्द्रमा सेवा लिने पीडितको संख्यामा वृद्धि

43

बागलुङ, २४ असार
धौलागिरी अञ्चल अस्पताल बागलुङमा रहेको लैङ्गिक हिंसा सम्वन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रमा पीडितहरुलाई दिइने निशुल्क सेवा लिनेको संख्या बढेको छ । अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन केन्द्रको आयोजनामा आयोजित एक कार्यक्रममा हरेक बर्ष सेवाग्राही बढेको बताइएको हो ।
अस्पतालमा विगत ६ बर्षदेखि केन्द्र स्थापना गरेर सेवा दिन थालिएको हो । घरेलु हिंसा, यौन हिंसा र मानसिक समस्या भएकाहरुलाई केन्द्रमा राखेर उपचार गराउने गरिन्छ । केन्द्रमा ६ बर्षमा ५ सयबढीले सेवा लिएको फोकल पर्सन देवी भट्टराईले बताउनुभयो । पीडित मध्ये झण्डै १० प्रतिशत पुरुषपनि छन् । पीडित मध्ये झण्डै १० प्रतिशत पुरुषपनि छन् । यस आर्थिक वर्ष २०७४/०७५ मा ९५ जना पीडितहरुले सेवा लिएको केन्द्रले जनाएको छ । सेवा लिनेमा ९ जना पुरुष रहेका छन् ।
केन्द्रमा आउने पीडितलाई मनोसामाजिक बिमर्श मार्फत शारिरीक र मानसिक उपचार गरिन्छ । एक साता सम्म राखेर गरिने उपचारपछि परिवारका सदस्यलाई समेत सामाजिक बिमर्श गराएपछि पुनस्थापना गर्ने गरिएको भट्टराईले जानकारी दिनुभयो । यसरी सेवा लिनेमा बागलुङ सहित धौलागिरीका बागलुङ, पर्वत र म्याग्दी तथा चितवन, दाङ र सुर्खेत सम्मका छन् ।
अञ्चल अस्पतालमा लैङ्गिक हिंसा सम्बन्धि एकद्वारा संकट व्यवस्थापन केन्द्र रहेको भन्ने प्रचारप्रसार र कुनै पनि हिंसा लुकाएर बस्न नहुने भन्ने जनचेतनाले पीडितहरुको संख्यामा वृद्धि आएको प्रमुख भट्टराईले बताउनुभयो ।
‘केन्द्रमा धेरै जसो टिनएजर विद्यार्थीहरु रहेका छन्’ प्रमुख भट्टराईले भन्नुभयो–‘मानसिक रुपमा पीडित विद्यार्थीहरुले आफ्नो पीडा अरुलाई व्यक्त गर्न नसक्नु र उनीहरुको मनोभावना विपरीत अभिभावक र शिक्षकले पढ्न लगाउने गर्नाले टिनएजरको संख्यामा वृद्धि आएको हो ।’ उहाँका अनुसार केन्द्रमा आएका पीडितहरुलाई उपचार र परामर्श दिने गरेको बताउनुभयो । ‘यहाँ आउँदा धेरै जसो पीडितहरु सुरुमा खुल्नु हुँदैन’ अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट सागरकुमार राजभण्डारीले भन्नुभयो–‘हामीहरुको परामर्श र उपचार पछि विस्तारै खुल्दै जाँदा के कारण रहेको पत्ता लाग्ने गरेको बताउनुभयो ।’
चालु बर्षपनि केन्द्रमा ९५ जना महिला र ९ पुरुष पीडितहरु उपचारका लागि आएका थिए । उनीहरु मध्ये १२ बालिका र बाँकी १५ बर्षदेखि ४९ बर्ष उमेर समूहका छन् । हरेक बर्ष आउने मध्ये १० प्रतिशत बढी बालिका हुने गर्छन् ।
धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सागरकुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको वार्षिक समिक्षा कार्यक्रममा पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषको मन्तव्य र अञ्चल अस्पतालका जनस्वास्थ्य निरिक्षक रामप्रसाद खनालको संचालनमा सम्पन्न भएको थियो ।